८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


भ्रष्टाचार बढेको होइन, अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा


0
Shares

काभ्रेपलाञ्चोक, साउन ३२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी संगठन प्रदेश नम्बर–३ को घोषणासभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको बताए ।

‘एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो । यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो’–उनले भने ।

उनले यसअघिका सरकारका समयमा पनि अख्तियार भएपनि यत्तिको सक्रिय नभएको दाबी गरे ।

मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताए ।

उनले भने–‘फाइल बुझाउन जाँदा कर्मचारीलाई ‘बेलुका तपाइँको फुर्सद के छ ? भेटौं न’ भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने हो । यस्तो प्रवृत्ति छ भने आजै त्याग्नोस्, नत्र तपाइँ पनि फन्दामा पर्नुहोला ।’

उनले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गरे ।

उनले रु एक अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिए ।

‘आफू क्षमता वृद्धि गरेर आउनोस्, कुनै अप्ठ्यारो छैन’–उनले भने–‘बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन ।’

समुद्ध नेपाल बनाउने प्रमुख औजारमध्येको निर्माण क्षेत्र पनि एक भएको उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत् चारओटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठ्यारो व्यहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गरे ।

उनले भने–‘समयमै काम नसक्दा पनि ठकेदार अदालत धाउँछन् । यसले कसैलाई फाइदा पुग्दैन ।’

निर्माण क्षेत्रको संशोधित पछिल्लो खरिद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उनले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा सांसदद्वय गंगाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य चन्द्र लामा, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रुकु चौलागाइँ, नेपाल निर्माण व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष यज्ञध्वज कार्की, संगठनका प्रदेश इन्चार्ज टंक चौलागाइँ, संगठनका महासचिव रोशन दाहाल र निर्माण व्यवसायी महासंघका जिल्ला अध्यक्ष उपेन्द्र घिसिङले शुभकामना दिएका थिए ।

यसैगरी, शनिबारै मन्त्री बाँस्कोटाले कम्प्युटर एसोसिएसन नेपाल महासंघद्वारा धुलिखेलमा आयोजित आर्थिक निकायमा डिजिटल आर्थिक सेवा विषयक प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै करछली गर्नेले डिजिटल आर्थिक सेवा लिन नचाहेको बताए ।

उनले भने–‘यस्ताले पनि भ्रष्टाचारलाई प्रसय दिएका छन् । भ्रष्टाचार न्यूनीकरण हुँदै जाँदा उनीहरु पनि यो सेवा लिन बाध्य हुन्छन् । त्यसतर्फ ध्यान जानु जरुरी छ ।’ रासस