८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


‘दुई वर्षमा नेपालमा सिमेन्ट दोब्बर र क्लिंकरमा आत्मनिर्भर हुन्छौं’


0
Shares

काठमाडौं, साउन ३१ । नेपालमा सिमेन्ट उद्योगको लामो इतिहास नभएपनि नेपाल सिमेन्टमा आत्मनिर्भर भएको सिमेन्ट उत्पादकहरुले बताएका छन् ।

नेपालमा करिब चार दशकअघि काठमाडौंको चोभारमा हिमाल सिमेन्टको उत्पादन सुरु भएपछि नेपालमा सिमेन्ट उत्पादन सुरु भएको हो ।

अहिले नेपालमा मागभन्दा ५० प्रतिशत बढी उत्पादन भइरहेको उत्पादकहरुले जनाएका छन् ।

नेपालमा १० लाख टन माग भएपनि १५ लाख टन उत्पादन भइरहेको उत्पादकहरुले बताएका छन् ।

अहिले नेपालमा ६१ ओटा सिमेन्ट उत्पादक कम्पनीहरुबाट सिमेन्ट उत्पादन भइरहेको छ ।

तीमध्ये हेटौंडा र उदयपुर दुईओटा सरकारीबाहेक अरु ५९ ओटा निजी क्षेत्रका सिमेन्ट उत्पादक कम्पनीबाट सिमेन्ट उत्पादन भइरहेको छ ।

सिमेन्ट उत्पादकहरुले अब सरकारले सिमेन्टमा निर्यातमुखी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेकाले अब सरकारले निर्यातमुखी वातावरण बनाउनुपर्ने र आन्तरिक खपत पनि बढाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने समय आएको बताउँछन्, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा ।

अहिले २१ ओटा सिमेन्ट उत्पादक कम्पनीहरुलेमात्रै आफैंले क्लिंकर उत्पादन गर्दै आएका छन् । अन्य उद्योगहरुले अरु उद्योगबाट लिँदै आएका छन् ।

तर, अब दुई वर्षभित्र भने सबै उद्योगहरुले आफैंले क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको थापाको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुकारूपमा विकास गरिने उल्लेख गरेको थियो । यस अनुसार ठोस कार्यक्रम ल्याइ निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।