
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन ३१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा, बढुवा नगर्ने दाबी गरेका छन् ।
शुक्रबार कुश्मामा प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।
मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने भन्दै उनले उचित तवरले निर्णय लिइने बताए ।
आउँदो कात्तिकभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै उनले त्यसपछि कुनैपनि तहमा कर्मचारीको अभाव नहुने बताए ।
अहिले देशभर झन्डै ३२ हजार कर्मचारीहरुको अभाव रहेको बताउँदै लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो संख्यामा कर्मचारीहरु भर्ना गर्न लागेको बताए । उनले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत दाबी गरे ।
मन्त्री पण्डितले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको र छिट्टै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।
उनले काम नगर्ने र ठग कर्मचारीहरुलाई पाता कसेर बाँध्नेगरी ऐन आउन लागेको भन्दै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्नेगरी ऐन ल्याउन लागिएको जिकिर गरे ।
कार्यालय समयमा कर्मचारी ट्रेड युनियन नहुने र सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने उनको भनाइ छ ।
‘पुराना कर्मचारीहरु कि त रुपान्तरण हुनुपर्दछ कि त हट्नुपर्दछ’–उनले भने ।
मन्त्रिमन्डल फेरबदलको कुरा प्रधानमन्त्रीको हातमा
अर्को प्रसंगमा मन्त्री पण्डितले भाडाको कार्यालयमा बसेका र भूकम्पले क्षति पुगेका स्थानीय तहकालाई भवन निर्माण गरिने बताए ।
स्थानीय तहको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत गरी भवन निर्माण गरिनेगरी यसै वर्ष ३० करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
उनले प्रत्येक स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्र हुने पनि बताए ।
मन्त्रिमन्डल फेरबदलको कुरा प्रधानमन्त्रीको हातमा रहेको बताउँदै उनले भने–‘राम्रो काम गर्ने मन्त्री रहन सक्छन् । सन्तोषजनक काम गर्न नसक्नेहरु बिदा हुन्छन् । यो प्रधानमन्त्रीको तजबीजको विषय हो ।’
प्रतिक्रिया दिनुहोस्