६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


भक्तपुरमा गाईजात्राको विशेष रौनक (भिडियो)


0
Shares

जयराम बास्तोला (इमेज)

भक्तपुर, साउन ३१ । देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाइरहेका छन् ।

भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउँछन् । उनीहरु शुक्रबारदेखि ८ दिनसम्म यो पर्व मनाउँछन् ।

भक्तपुरमा ८ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईकोरुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ ।

उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात् चारओटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गरिन्छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । यो नाच जोडी–जोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

घिन्ताङघिसीका साथै हनुमान नाच, बाँदर नाच, लाखेनाच, भैरवनाच, ख्या त्याखलगायत देवीदेवताका नाच यहाँको अर्को विशेषता हो ।

गाई वा ताहामचा बनाइ नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।

गाईजात्राका अवसरमा तलेजु स्थानबाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा बनाइ नगर परिक्रमा गराइन्छ ।

त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतीक ताहामचा बनाइ नगर परिक्रमा गरिन्छ ।

मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीतिलीला रामायणसमेत गाईजात्राका अवसरमा प्रदर्शन गर्ने चलन छ ।

वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतीकको रुप दिएर सहर परिक्रमा गराउने चलन छ । यसो गर्दा दिवंगत व्यक्तिले बैतरणी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

गाईजात्रा खासगरी नेवार समुदायले मनाउने पर्व हो । यो पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइन्छ ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गरिन्छ ।

देशका विभिन्न स्थानमा यो पर्व मनाउने चलन रहेपनि भक्तपुरमा मनाइने गाईजात्रालाई भने विशेषरुपमा हेरिँदै आएको छ ।

भिडियो हेर्नुहोस्