६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


घरघडेरी मासिने भन्दै स्थानीयवासीले विरोध गरेपछि सडक योजना अलपत्र


0
Shares

सागर महत

अर्घाखाँची, साउन ३१ । पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटन जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विवादका कारण अलपत्र बनेको छ ।

अर्घाखाँचीको सन्धिखर्कस्थित चुत्राबेशी बजारमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि योजना अलपत्र परेको हो ।

१० वर्षअघिदेखि निर्माण शुरु गरिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित गति लिन सकिरहेको छैन । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा आफूहरुका घरघडेरी मासिने भन्दै स्थानीयले चर्को विरोध जनाएपछि काम अगाडि बढाउन समस्या भएको हो ।

सरकारी पक्ष र स्थानीयबीच पटकपटक भएका छलफल र बैठक बिनानिष्कर्ष टुंगिएका छन् । चुत्रावेशी बजारमा  स्थानीयले ट्रयाक खोल्न नदिने अडान राखेपछि समस्या भएको ढोरपाटन सडक संघर्ष समितिका अध्यक्ष रामहरी भुसालको भनाइ छ ।

बाग्लुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा उत्पन्न विवाद यसको उल्झन बनेको छ । ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको र चुत्रावेशी बजारमा देखिएको समस्या छिट्टै निष्कर्षमा पुग्न लागेको आयोजना प्रमुख जयलाल मरासिनीको भनाइ छ ।

सालझण्डीदेखि सन्धिखर्कसम्म ७० किलोमिटर सडकमध्ये ५८ किलोमिटर ग्राबेल गरिसकिएको छ । त्यस्तै पाल्पाको कन्चनखोलादेखी ढुङ्ग्रोसम्मको १८ किलोमिटर सडक ग्राबेलको ठेक्का लिएको बिटी जयबाबा स्वयम्भु काठमाडौले ६ किमीमात्र ग्राबेल गरेर ठेक्का तोडेपछि कारबाहीको प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

सडकको लम्बाइ १९५ किलोमिटर छ । यसबाट अर्घाखाँचीलगायतका जिल्लाको पर्यटन प्रवर्द्धन र आवतजावतमा सहज हुने धेरैको विश्वास छ । असन्तुष्ट पक्षका आवाज सम्बोधन गरेर निर्माणको गतिलाई तीव्रता दिन पहल गर्नुपर्ने देखिन्छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्