१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जिल्ला प्रशासन चितवनबाट नागरिकता लिनै दुई हप्ता लाग्ने


0
Shares

चितवन । चितवनमा नागरिकता पाउँन कठिन हुन थालेको छ । नागरिक वडापत्रमा समेत एकै दिनमा नागरिकता पाउने उल्लेख भएपछि नयाँ र प्रतिलिपि लिन हातमा टोकन लिएर दिनहुँ धाउँनु पर्ने वाध्यता सेवाग्राहीको छ ।

खैरहनी २ चितवनका शिवहरी लम्साल नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन आइपुग्नुभयो । राष्ट्रिय परिचय पत्रका लागि आवश्यक परेकोले उन्लाई त्यही प्रतिलिपि पाउन अव १९ गते बोलाइयो । हातमा टोकन लिँदै प्रतिलिपि लिन समेत यतिका दिन कुर्नुपरेको गुनासो लम्सालको छ ।

राप्ती नगरपालिका ८ खुरखुरेबाट आउनुभएका सुदर्शन पाठक छोराका लागि नागरिकता बनाउन पौष ६ गते कागजपत्र बुझाए । तर उन्लाई नागरिकता पाउने आशा अझै छैन । नागरिकलाई अत्यावश्यक सेवाहरु उपलब्ध गराउन उपशाखा बनाएर सेवा दिनुपर्ने पाठक बताउछन् ।

सेवामा ढिलाई त छैँदै छ त्यसमाथि प्रशासनका कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार पनि ठिक छैन । सेवाग्राहीका अनुसार कर्मचारीहरु झर्केर बोल्ने, पर्याप्त जानकारी नदिने, समय पर सार्ने लगायतका समस्याहरु रहेका छन् ।

छोरीको नागरिकता बनाउन मंसिर २८ गते सबै कागजपत्रहरु पेश गरेपनि अझै नागरिकता पाउन नसकेको गुनासो चम्पा कुमारी कुमालको छ । यता, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने राष्ट्रिय परिचय पत्र वितरणको कार्य भएकाले भीड भएको बताउनुहुन्छ ।

लकडाउनका कारण सेवा प्रवाह रोकिँदा पनि भीड बढेकाले केही दिनकालागि मात्रै यो समस्या रहेको बताउनुभयो । कार्यालय बाहिर टाँसिएको नागरिक वडापत्रमा समेत आवश्यक प्रमाण पुगेमा सोही दिन नागरिकता पाउने उल्लेख छ ।

तर जिल्ला प्रशासन कार्यालय चितवनबाट भने नागरिक वडापत्र अनुसार त परको कुरा केही दिनको फरक राखेर टोकन दिएको दिनमा समेत सेवा नपाइरहेको सेवाग्राहीहरुले गुनासो गरिरहेका छन् ।

अत्यावश्यक सेवा एकै ठाउँमा केन्द्रीत हुँदा नागरिकले वर्षेनी दुख पाइरहेका छन् । सेवाप्रवाहलाई विकेन्द्रीकरण गर्न नसक्नुले जनताले अझै दुख पाइरहेको अवस्था रहेको छ ।