६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


बाढीको कटानमा परेर कञ्चनपुरमा हजारौं बिघा जमिन बगरमा परिणत


26
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । बाढीले जमिन कटान गरेर बगरमा परिणत गरिदिएपछि कञ्चनपुरका बाढीपीडित समस्यामा परेका छन् ।

हजारौँ बिघा खेतीयोग्य जमिन बगरले खाइदिए पनि जग्गाको कर तिर्नुरेको पीडित पक्षले गुनासो गर्दै आएका हुन् ।

अर्कोतिर जैविक तटबन्ध र बगर संरक्षण गर्न थालिएपछि भने बगरमय बनेको जमिन पुनः खेतीयोग्य हुनेमा स्थानीय आशावादी देखिएका छन् ।

२०२५ सालयता बाढीले कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र लालझाँडीमा मात्रै १७ हजार ८ सय २२ विघा जमिन कटान तथा पटान भएको छ ।

जसमध्ये लालझाँडी गाउँपालिकाको १६ हजार एक सय ४६ विघा जमिन बगरमा परिणत भएपछि कतिपय विस्थापित हुनुपर्‍यो भने कैयौँले खेत गुमाएका छन् ।

बाढीले खेतीयोग्य जमिन बगरमा परिणत भए पनि पीडितहरु जग्गाको कर तिर्न बाध्य छन् ।

लालझाडी ५ बाट विस्थापित भएका स्थानीय सहदेव राना १० वर्षअघि खेत बगर बने पनि जग्गाधनी पुर्जीका आधारमा वर्षौँदेखि कर तिर्दै आएको गुनासो गर्छन् ।

२०२५ सालयता बाढीकै कारण शुक्लाफाँटा, कृष्णपुर  लालझाँडीमा २३ जनाको ज्यान गएको छ भने ६४६ परिवार विस्थापित भएका छन् ।

यस्तै, ६८५ घरमा क्षति र १ हजार ७ सय ६६ घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाको तथ्यांकले देखाएको छ ।

नदीले धार परिवर्तन गर्दा ठूलो जनधनको क्षति गरेपछि अहिले नेपाल रेडक्रस सोसाइटी र स्थानीय सरकारले हातेमालो गरेर अगाडि बढेका छन् ।

रेडक्रसको सहकार्यमा बगर संरक्षण तथा जोमिखयुक्त क्षेत्रमा जैविक तटबन्ध निर्माण भएपछि राहत महशुस भएको  शुक्लाफाँटा २ का स्थानीय कमल चौधरीको भनाइ छ ।

केही समयदेखि बाढीको जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्ध र बगरमा विरुवा घाँस रोप्दा बगरको त संरक्षण भएको छ नै कतिपय ठाउँमा पुनः खेती गर्न योग्य भइसकेको छ ।

यता, लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक जैविक तटबन्ध निर्माण र बगरको संरक्षणबाट जमिन खेतीयोग्न हुनेमा स्थानीय आशावादी भएको भन्दै जग्गाको बर्गीकरण गरी सोही आधारमा कर लिने गरेको बताउँछन् ।

कञ्चनपुरमा बाढीबाट ६५ हजारभन्दा बढी घरपरिवार प्रभावित हुन सक्ने पूर्वानुमान छ ।

यस्तै, मानवीय क्षति न्यूनीकरणका लागि मछेली नदीको उद्गमस्थलमा  स्वचालित पूर्वसूचना प्रणाली जडान गरिएकाले तटीय क्षेत्रमा जोखिम घट्ने संभावना देखिएको छ ।