
काठमाडौं(जिल्ला ब्यूरो) । डोजरले बनाएको खाल्डोमा डुबेर धेरै जनाको ज्यान गए पनि त्यसको नियन्त्रणमा खासै चासो देखाइएको छैन ।
जथाभावी खाडल खनेर असुरक्षित छाडेपछि ठाउँठाउँमा अप्रिय घटना भइरहे पनि गम्भीरताका साथ नलिँदा ज्यादतीको यो शृंखला रोकिन सकेको छैन ।
देशका नदी तथा खोलाहरुमा डोजरले बालुवा निकाल्दा बनेको खाल्डोमा डुवेर बैशाख यता १२ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसबीचमा सरकारी निकायबाटै बिभिन्न छानविन समिति गठन भइसकेपनि यस्ता घटनाक्रम भने रोकिएको छैन ।
गत जेठ ४ गते धादिङको मलेखुमा गिट्टी निकालेको खाल्डोमा डुबेर गजुरी गाउँपालिका २ का ८ वर्षीय केदार गिरीको मृत्यु भएको थियो ।
सो घटना सेलाउन नपाउँदै जेठ ९ गते सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा कालिका कन्स्ट्रक्सनले नियमविपरीत बालुवा गिटी उत्खननका लागि बनाएको खाल्डोको पानीमा डुवेर स्थानीय सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भयो ।
त्यस्तै असार १४ गते सर्लाहीको गौरीशंकरमा अवैध ढंगले वालुवा, गिटी निकाल्न खनिएको खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३, का १२ वर्षीय अमित रायको ज्यान गयो ।
सोही घटनालाई लिएर चर्किएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु हुन पुग्यो ।
साउन ९ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ मा ढुंगा गिट्टी निकाल्दा भएको खाल्डोमा डुबेर १२ बर्षीय आकाश मगर र सोही ठाउँका ११ बर्षीय आदित्य मगरको मृत्यु भयो ।
सिरहाको छुट्टाछुटै स्थानका खाल्डामा डुबेर साउन १८ गते भारतको पश्चिम बंगालका २ बालबालिकाले ज्यान गुमाउनुपर्यो ।
गत शनिबार धादिङको गजुरी–६ स्थित दरिगाल खोलामा बालुवा झिक्न बनाएको खाल्डोमा डुबेर गजुरी–७ भस्मेखर्क का २१ वर्षीय भिमबहादुर तामाङ र २३ वर्षीय सुमन स्याङ्तानको ज्यान गयो ।
सोही घटनालाई लिएर आक्रोशित स्थानीयले तीनवटा एस्काभेटरमा आगजनी समेत गरेका थिए ।
नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित कोल्पुखोला किनारमा सोमबार साँझ बालुवा निकालेको खाल्डोमा डुबेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु हुन पुग्यो ।
यी केही प्रतिनिधि घटनाले ठाउँठाउँमा खाडल खनेर कसरी धराप थापिएको छ त भन्ने कहालीलाग्दो अवस्थाको संकेत गर्छन् ।
घटनाकोे फेहरिस्त दिन–प्रतिदिन थपिए पनि न त यस्ता अवैध क्रियाकलापमा संलग्नहरुलाई कारबाही गर्न सकिएको छ, न त नियन्त्रणको कुनै ठोस पहल नै हुन सकेको छ ।
यहीँ विषयलाई लिएर कैयाँै दिन संसद अवरुद्ध पनि गरियो । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस र राजपाले संसद अवरुद्ध पारेका थिए ।
पछि नेकपा संसदिय दलका उपनेता सुवास नेम्बाङको संयोजनमा न्यायिक छानविन समिति गठन समेत गरियो ।
उक्त छानविन समितिले अहिले पनि प्रतिवेदन बुझाएको छैन भने अर्को तर्फ यस्ता घटनाहरु हुने क्रम रोकिएको छैन ।
अवैध धन्दाबाट लूटको साम्राज्य फैलाएर आतंक मच्चाउनेहरुलाई कानुनी डण्डा लगाएर यस्ता क्रियाकलापलाई तुरुन्त नरोकेसम्म कोरा आश्वासनले मात्र केही गर्दैन ।
प्रतिक्रिया दिनुहोस्