
डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । पछिल्लो समय बागलुङका सबै क्षेत्र सडक सञ्जालले जोडिएका छन् । सडकले जोडिएसँगै यहाँको अत्यन्तै दुर्गम र विकट गाउँहरु समेत सुगममा परिणत हुँदै गएका छन् ।
जसको पछिल्लो उदाहरण बोबाङ गाउँ बनेको छ । यस गाउँ सडकको पहुँचमा आएसँगै स्थानीयले आम्दानी समेत गर्न थालेका छन् ।
बागलुङको सबैभन्दा दुर्गम मानिएको बोबाङ गाउँ सडकले जोडिएपछि सुगम बन्दै गएको छ । ५/७ वर्ष पहिलेसम्म सडक नपुगेको उक्त गाउँमा अहिले मोटरबाटोले जताततै जोडिएको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्म जोडिएको सडकले गाउँको बीच भागबाटै चिरेर गएपछि गाउँको मुहारै फेरिएको छ ।
सडकले नजोडिदा यस गाउँबाट सदरमुकाम बागलुङ बजार आउन जान ६/७ दिन लाग्ने गथ्र्यो ।
तर अहिले ३/४ घण्टा मै सदरमुकाम बागलुङ बजार आउन सकिन्छ । यातायातको पहुँच पुगेपछि स्थानीयमा खुसी छाएको छ । उनीहरुको आनीबानीमा परिवर्तन आएको छ ।
मोटर गाडी देख्नको लागि देशका ठूला शहरमा पुगेका स्थानीयहरु दैनिक घर अगाडी गाडी गुड्दा दंग परेका छन् ।
यातायातको सहजता भएसँगै टाढा–टाढा पुग्न र सामान ढुवानी गर्न सहज भएको छ ।
सडक नहुँदा यहाँ उत्पादित आलु, भाँगो लगायत उत्पादित वस्तुहरु बोकेरै फेँदीसम्म पुर्याउने स्थानीयको बाध्यता अव हटेको छ ।
बोबाङ गाउँमा विषेश गरि जडिबुटि, भाँगो र भेडाबाख्राहरु, आलु बढि मात्रामा उत्पादन हुने भएकाले सडकले यहाँ उत्पादन हुने उत्पादित वस्तुहरु बजारसम्म पुर्याउन थप सहजता ल्याएको छ ।
सडक ग्रामीण क्षेत्रसँग नजोडिँदा उत्पादन हुने सामग्रीहरु खेर गएइरहेका थिए ।
पछिल्लो समय सडक छेउछाउमा बस्ती समेत बढ्न थालेका छन् । यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य समेत आकासिँदै गएको छ ।
आफैंमा सुन्दर बोबाङ गाउँ सडकले जोडिएपछि झनै सुन्दर बनेको छ ।
सडकले यहाँका स्थनीयहरुको जीविकोपार्जनमा पक्कै परिवर्तन ल्याउने छ, तर सडक निर्माणको नाउँमा जथाभावी डोजर चल्दा त्यसले निम्त्याउने विनाश पनि बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्