Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पहिलो चौमासिकमा विप्रेषणमा सुधार, निर्यात बढ्यो


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विप्रेषण आप्रवाहमा ११ दशमलब २ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह २ दशमलब ८ प्रतिशतले घटेको थियो ।

चालु् आर्थिक वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलब ४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलब ९ प्रतिशतले घटेको थियो । यस्तै समिक्षा अवधिमा कुल वस्तु निर्यात १० दशमलब ८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४० अर्ब २० करोड बराबरको वस्तु निर्यात हुँदा कुल वस्तु आयात १० दशमदलब ६ प्रतिशतले घटेर ४ खर्ब २ अर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयात ६ दशमलब ९ प्रतिशतले घटेको थियो भने निर्यात २३ दशमलब ९ प्रतिशतले वृद्धि भएको थियो ।

समिक्षा अवधिमा चालु खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ३४ अर्ब १२ करोडले घाटामा रहेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै समिक्षा अवधिमा अघिल्लो वर्ष भन्दा तरकारी उपसमुहको मूल्यवृद्धि करिब २१ प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । चैत्र महिनादेखि औद्योगिक कच्चा पदार्थ, इन्धन, यातायातका साधन तथा पार्टस्लगायतका वस्तुहरूको आयात घटेकोमा असोज महिनादेखि त्यस्ता वस्तुहरूको आयात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।