
-सीता पाण्डे/ईमेज
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता भएको आशंका गरिएको छ ।
मन्दिरमा भेटीवापत् संकलित रकम व्यवस्थापन समतिकिा अध्यक्षले व्यक्तिगत प्रयोजनका लागि निकालेको भन्दै अनियमितता भएको आरोप लागेको हो ।
मन्दिरसँग सरोकार राख्ने धार्मिक संघसंस्थाले चासो राखेपछि पाल्पाको भैरवनाथ मन्दिरमा संकलित रकममा अनियमितता भएको तथ्य बाहिर आएको हो ।
सदरमुकाम तानसेनस्थित गरिमा विकास बैंँकमा राखिएको २७ लाख २० हजार रुपैयाँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले व्यक्तिगत प्रयोजनका लागि झिकेको बताइएको छ ।
हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दुका रुपमा स्थापित यस मन्दिरमा आर्थिक अनियमितता भएकाले आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीको भनाइ छ ।
मन्दिर व्यवस्थापन समितिको निर्णयबिना अध्यक्ष अधिकारीले दुई वर्ष अगाडि नै बैंकबाट रकम झिकेर व्यक्तिगत कार्यमा लगानी गरेको भन्दै व्यवस्थापन समितिका अन्य पदाधिकारी पनि आक्रोशित छन् ।
यता, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजबहादुर पोखेरलले समितिको निर्णय बिनै मन्दिरको रकम कुन प्रयोजनका लागि झिकेको भन्नेमा प्रस्ट हुन नसकेको धारणा राख्छन् ।
स्थानीय सञ्चार माध्यमहरुमा समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान र गुठी संस्थान कार्यालयले अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छन् ।
समितिको गैरकानुनी ढंगले समितिका अध्यक्षले नै रकम हिनामिना गर्नु निन्दनीय भएको स्थानीयले बताउँदै आएका छन् ।
श्रद्धा र विश्वास जागेर मन्दिर संरक्षणको लागि भक्तजनले समर्पण गरेको भेटीमै व्यवस्थापक बनेर बसेकाले कुदृष्टि राख्नु आफैँमा लज्जाजनक छ ।
प्रतिक्रिया दिनुहोस्