
काठमाडौं, साउन २८ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामदेव गौतम विमानस्थल पुगे ।
केही समय अघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा गौतमले फरक मत राखेपछि ओली–गौतम सम्बन्धमा खटपट आएको थियो । त्यसयता सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएका थिएनन् ।
बालुवाटार स्रोतका अनुसार असारको अन्तिम साताबाट ओली–गौतम सम्बन्धमा सुधार आएको हो । गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए ।
केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए । त्यसक्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्तावसमेत गरेका थिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्