९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


‘प्यान’ लिनेको भीड पहाडमा पनि


0
Shares

टेकराज अवस्थी (इमेज)

डडेल्धुरा, साउन २७ । सरकारले अनिवार्य व्यक्तिगत प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेपछि डडेल्धुराको आन्तरिक राजश्व कार्यालयमा थेगी नसक्नु भीड लागेको छ ।

सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी एक हजार रुपैयाँभन्दा बढी खर्चका लागि स्थायी लेखा नम्बर अनिवार्य गर्ने नीति अवलम्बन गरेसँगै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको एकमात्र करदाता सेवा कार्यालयमा आउनेहरुको भीड लागेको हो ।

चालू आर्थिक वर्षको तीन महिनाभित्रै व्यापारी, व्यवसायी, उद्यमी, कृषक, गैरसरकारी संघ–संस्थाहरु शिक्षक, कर्मचारीलगायत विभिन्न आर्थिक कारोबार गर्ने निजी तथा संस्थागत पेसा, फर्मलगायतले प्यान नम्बर लिनुपर्ने एवं नवीकरण गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

यसैले सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न स्थानबाट आउने करदाता सेवाग्राहीहरुले गर्दा डडेल्धुरामा चहलपहल पनि वृद्धि भएको छ ।

२०७५ मंसिर १७ गतेदेखि काम सुरु गरेको यस करदाता सेवा कार्यालयबाट चालू आर्थिक वर्ष २०७५/०७६ साउन २६ गतेसम्म दार्चुला, बैतडी र डडेल्धुराका १५ हजार ७६७ जनाले प्यान लिएको जनाइएको छ ।

यसैगरी, यस अवधिसम्म स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर, सन्चार, बिमा, हवाई उडान अन्तःशुल्क र उत्पादनलगायतका विविध सेवा तथा शीर्षकमा कुल १७ करोड ७४ लाख बराबर राजश्व पनि संकलन गरेको कार्यालयले जनाएको छ ।

करदाता सेवा कार्यालय सन्चालनमा आएसँगै पहाडी जिल्लाका करदाताहरुले केही राहत महसुस गरेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगरमा आन्तरिक राजश्व कार्यालय र लम्की र डडेल्धुरामा करदाता सेवा कार्यालय रहेका छन् ।