अन्नपूर्ण सुगर मिल्स किसानलाई भुक्तानी दिन तयार « Image Khabar


अन्नपूर्ण सुगर मिल्स किसानलाई भुक्तानी दिन तयार


Imagekhabar
५ पुष २०७७, आईतवार ११:०१

sugar cane farmer protest and sugar meal owner

काठमाडौं । उखु किसानहरु आफ्नो उखुको भुक्तानी माग्दै काठमाडौंमा आन्दोलनरत रहेकै समयमा सुगर मिल्सहरुले धमाधम भुक्तानी दिन थालेका छन् ।

सरकारले चिनी मिल्सका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेसँगैं मिल्सहरु रकम भुक्तानी गर्न तयार भएका हुन् ।

सर्लाहीको अन्नपूर्ण सुगर मिल्सले किसानको खातामा रकम पठाउने जानकारी दिएको छ ।

आइतबार सञ्चालक राकेश अग्रवालले प्रेस विज्ञप्ति जारी गर्दै अन्नपूर्णले आजैका मितिबाट दैनिक एक करोडका दरले भुक्तानी सुरु गरेको उल्लेख गर्नु भएको छ । ।

पछिलो एक वर्षको अवधिमा १८ करोड भुक्तानी गरिसकेको पनि अन्नपूर्णले जनाएको छ । अन्नपूर्ण सुगर मिलले अझै ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानहरूको तथ्यांक छ ।

नवलपरासीको इन्दिरा सुगर मिलका सञ्चालक समेत रहेका अग्रवालविरुद्ध सर्लाही र नवलपरासी दुवै जिल्लाबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अग्रवाल दुई वर्षअघि पनि किसानको बक्यौता तिर्न नसक्दा फरार भएका थिए । यसअघि रौतहटको श्रीराम सुगर मिल्सले पहिलो चरणमा किसानको खातामा रकम पठाउन सुरु गरेको थियो ।

बिहिबार र शुक्रबार गरी उद्योगले किसानको बक्यौतामध्ये कूल ३१ करोड ९१ लाख रुपैयाँ बैकमा जम्मा गरेको छ ।

सुगर मिल्सले करोडौं भुक्तानी उखु किसानलाई दिनुपर्ने भएपनि नदिए पछि किसानहरु काठमाडौंमा आन्दोलनमा उत्रिएका हुन् ।

गत सालपनि सरकार र उखु किसानबीच भुक्तानी दिने सहमति भएपनि उखु किसानले सहमति अनुसार रकम नपाएको बताएका छन् ।

किसानले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्