
फाइल तस्वीर
काठमाडौं, साउन २६ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले न्याय सेवामा प्रवेश गरेका नयाँ कर्मचारीलाई आफ्नो कुरामा सहमति जनाउनका लागि नभई प्रतिवाद गर्न आफूलाई भेट्न आउन आग्रह गरेका छन् ।
महान्यायधिवक्ताको कार्यालयले आज आयोजना गरेको ‘सेवा प्रवेश तालीमको समापन तथा नजीर संग्रहको विमोचन कार्यक्रम’ मा उनले सही कुराको मात्रै समर्थन गर्न नवप्रवेशी कर्मचारीलाई अनुरोध गरेका हुन् ।
सरकारी वकिलका कार्यालयलाई बेठीक कुरालाई बेठीक हो भन्न सक्ने कर्मचारी आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘यो मिल्दैन सर र यो गर्न हुँदैन सर भन्न मात्रै आउनुहोस् ।’
उनले नयाँ प्रवेशीलाई कर्तव्यनिष्ठ भएर काममा लाग्न निर्देशन दिएका छन् । गतसाता मात्रै तीन जना सरकारी वकिललाई कारवाही गरिएको भन्दै उनले सत्य र इमान्दार भएर काममा लाग्न निर्देशन दिए ।
सरकारी वकिल नारा जुलुसलाई बेवास्ता गर्दै आफ्नो जिम्मेवारीतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।
मुलुकी अपराधसंहिता समेतका नयाँ संहिताको कार्यान्वयनसँगै सरकारी वकिललाई थप जिम्मेवारी आएको महान्यायधिवक्ता खरेलले बताए । बढेको जिम्मेवारीलाई परिपूर्ति गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाउन विद्यमान जनशक्ति कम भएकाले जनशक्ति थप्दै जाने योजना रहेको उनले बताए ।
आगामी तीन वर्षभित्रमा १२७ सरकारी वकिलसहित २५२ जना जनशिक्त थप्ने योजना रहेको उनले जानकारी गराए ।
नायब महान्यायाधिवक्ता खगराज पौडेलले नवप्रवेशीसँग यस कार्यालयले धेरै अपेक्षा गरेको बताए । उनले भने, ‘कार्यालयले गरेको आस्था र विश्वास गुम्न नदिने गरी काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’
महान्यायधिवक्ता खरेलले ‘नजीर संग्रह’ को विमोचन र तालीममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्