
बारा, साउन २६ । आन्तरिक राजश्व कार्यालय बारा, सिमराबाट साउन १ गते यता ५ हजार ३३० जनाले ब्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र लिएका छन् ।
व्यक्तिगत रुपमा पारिश्रमिकसहित आयआर्जन गर्नेको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो । यहाँ विशेषगरी व्यक्तिगत प्यान नम्बर लिन आउनेको संख्या ह्वात्तै बढेपछि छुटै ५ जनाको टिम बनाएर खटाइएको कार्यालयका प्रमुख तुलसीप्रसाद चौलागाइँले बताए ।
दैनिक रुपमा ४०० देखि ५०० सयसम्म सेवाग्राहीहरु व्यक्तिगत प्यान लिनमात्रै आउने गरेको कार्यालयले जनाएको छ । सीमित कर्मचारी रहे पनि प्यान लिन आउनेहरुलाई कार्यालयले ५ जना कर्मचारीको छुट्टै युनिट खडा गरी फाराम भर्न सहज बनाएको कार्यालयले जनाएको छ ।
टाढाबाट आउने सेवाग्राहीहरुका लागि कार्यालय परिसरमा आएपछि बेलुका ६÷७ बजेसम्म पनि प्रमाणपत्र उपलब्ध गराउने गरेको जनाइएको छ । ब्यक्तिगतसँगै व्यावसायिक र भ्याट प्रमाणपत्र लिन आउनेको संख्या उत्साहप्रद रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्