
ताप्लेजुङ, साउन २६ । ताप्लेजुङको तोक्पेगोलावासीले यो वर्ष पनि ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रा धुमधामका साथ मनाएका छन् ।
नागपञ्चमीदेखि ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रा सुरु हुने गर्छ । पुजा गर्नुका साथै विभिन्न खेलकुदका कार्यक्रम गरी त्यहाँ बसोबास गर्ने सिमान्तकृत तोक्पेगोला जातीले ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रा मनाएका हुन् ।
झण्डै ३५ सय मिटरको उचाईमा पर्ने तोक्पेगोलामा २३ घर ढुक्पा जातीहरुको बसोबास छ । उक्त पर्व उनिहरुले मात्रै मनाउँदै आएका छन् ।
सदरमुकामदेखि झण्डै तीन दिनको दुरीमा पर्ने सो क्षेत्रमा रहेको सोदुपोखरीमा नागपञ्चमीका दिन नागको पुजाआजा गरिन्छ भने घर घरमा त्रिपिटक पुस्तकहरु घुमाउने गरिन्छ । यसरी पुस्तक घुमाउनाले घरमा लक्ष्मी भित्रने र दुःख–कष्ट हरण हुने जनविश्वास छ ।
पर्वका अवसरमा विभिन्न क्षेत्रबाट ३÷४ दिनसम्म लगाएर मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्