
पाँचथर । ९ दशमल ९ मेगावाट क्षमता भएको इँवा खोला जलविद्युत आयोजनाको काम पूरा भएको छ ।
पाँचथरको याङवरक गाँउपालिकामा निर्माणाधिन आयोजना विद्युत उत्पादनका लागि तयार भएको प्रवद्र्धक रैराङ हाईड्रो पावर कम्पनीले काम पूरा भएको जानकारी दिएको छ ।
विद्युत प्राधिकरणले अनुमति दिएपछि परीक्षण प्रसारण सुरु हुने आयोजना प्रमुख कुवेरमणि नेपालले बताए । यही हप्ताबाट परीक्षण प्रसारण सुरु हुने बताइएको छ ।
यहाँ उत्पादन भएको विद्युत ३३ केवीए प्रसारण लाईनलाई कावेली वि–१ आयोजना नजिकै बनाइएको ‘पुलिङ हाउस’ भएको ठाँउबाट १ सय ३२ केविएमा रुपान्तरण गरिने जानकारी दिइएको छ ।
दुई जलविद्युत आयोजनाको विद्युत एकै ठाँउमा बनाएर केन्द्रीय प्रसारणमा पठाउने नयाँ अभ्यास गर्न लागिएको नेपालले जानकारी दिए ।
पुलिङ हाउस भएको ठाँउबाट विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्मको प्रसारण लाईनबाट केन्द्रीय प्रसारणमा जडान हुनेछ ।
आयोजनाको इँवा–कावेली दोभानबाट साढे नौ किलोमिटर प्रसारण लाईनका माध्यमबाट विद्युत प्राधिकरणको सवस्टेशनमा विद्युत जडान हुनेछ ।
पुलिङ हाउसमा कावेली वि–१ को विद्युत पनि जोडेर केन्द्रीय प्रसारणमा लगिने छ ।
कावेली वि–१ पनि अन्तिम चरण पुगेको बताइएको छ । २०७३ मंसिरबाट सुरु भएको आयोजना १ अर्ब ८५ करोडमा सम्पन्न भएको आयोजना प्रमुख नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस्