
काठमाडौं, साउन २५ । साना तथा मझौला उद्योगी–व्यवसायीहरुले सरकारले आफूहरुलाई बेवास्ता गरेको गुनासोे गरेका छन् ।
साना तथा मझौला उद्योग महासंघले शनिबार काठमाडौंमा ‘एसएमई मेला २०१९’ बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष्य दीपकप्रसाद आचार्यले सरकारले व्यवसायीहरुको समस्या नबुझेको र पाउनुपर्ने सहयोग पनि नपाएको बताए ।
उनले सरकारले रुग्ण उद्योग विकासको नीतिमात्रै ल्याएको तर कार्यान्वयनका लागि भने वास्ता नै नगरेको उल्लेख गरे ।
महासंघकी पूर्वअध्यक्ष भुनु पौडेलले सरकारले ल्याएको करसम्बन्धी व्यवस्थाको समयावधि थप्न माग गरिन् ।
महासंघले आउँदो भदौ १९ देखि २३ गतेसम्म भृकुटीमन्डपमा एसएमई मेला २०१९ आयोजना गर्दैछ ।
मेलामा हस्तकलाका सामग्री, विभिन्न जातजातिका भेषभूषाहरु प्रदर्शनमा राखिनेछन् ।
मेलाको दुई लाख व्यक्तिले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्