Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाली समाजको चुनौती नकारात्मक सोच : मन्त्री विश्वकर्मा


0
Shares

ललितपुर, साउन २५ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका सबै युवालाई आफ्नो कर्तव्य र भूमिका बोध गरी राष्ट्र निर्माणमा अघि बढ्न आग्रह गरेका छन् ।

ललितपुरमा शनिबार नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय युवा दिवस २०१९’ को कार्यक्रममा युवामन्त्री विश्वकर्माले नेपाली समाजको वर्तमान गम्भीर चुनौती भनेकै युवामा नकारात्मक सोचको भावना बढ्दै जानुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा प्रभाव पर्दै गएको धारणा राखे ।

उनले भने–‘हरेक युवाले सकारात्मक सोच लिएर अघि बढेमा मुलुकले छिट्टै विकास र समृद्धि हासिल गर्नेछ ।’

राणाकालीन समय स्मरण गराउँदै मन्त्री विश्वकर्माले लखन थापा, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीजस्ता युवाले नेपाल र नेपालीको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिएको चर्चा गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले शिक्षाको बहानामा रोजगारी खोजेर बाहिरिने युवाको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्–‘नेपाली युवाको सोच विदेशी शिक्षा हासिल गरे माथि पुगिन्छ भन्ने छ । तर, त्यो वास्तवमा सही होइन ।’

आयोनले विगत १४ वर्षदेखि युवा अधिकार, युवा संस्था र युवा क्षमता अभिवृद्धिका थुप्रै काम गर्दै आएको छ ।

हाल देशमा रहेका ४०.३ प्रतिशत युवालाई तीन तहका सरकारमा अघि बढाउन आयोनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । रासस