५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


बाढीले जलविद्युत आयोजनाको बाँध बगाउँदा ११ सय घरधुरी अन्धकारमा


13
Shares

बाग्लुङ । बाढीले विद्युत आयोजनाको बाँध बगाएपछि बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका १ हजार १ सय २० घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजना बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै बोहोरागाउँ, थापागाउँ, झिँवाखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ ।

निरन्तर वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ ।

निसीखोलामा रहेको २० मिटरको बाँध बगाएकाले विद्युत आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले जानकारी दिए ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ ।

वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता बताउँछन् ।

आयोजनाको बाँधसँगै मुख्य प्रशारण लाईनका ८ वटा पोलसमेत भाँचिएका छन् ।

आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दुरसञ्चारका टावरहरुसमेत प्रभावित भएका छन् ।

मोबाइलको व्याट्री चार्ज गर्नसमेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था भएको बताइएको छ ।