
काठमाडौं, साउन २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई कुनैपनि हालतमा थला पर्न नदिने बताएका छन् ।
निगमको सुधारका लागि सुझाव संकलनका लागि कार्यदल बनाएकोे र प्राप्त प्रतिवेदनअनुसार व्यवस्थापन गर्दै जाने उनको भनाइ छ ।
मन्त्री भट्टराईले नेपाली जहाजलाई जुनसुकै आकाशमा सहजरुपमा उड्नका लागि वातावरण बनाउन मन्त्रालय दृढ रहेको पनि बताए ।
नेपाल भ्रमण वर्ष २०२० सचिवालयले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले सम्बन्धित देशका प्रतिनिधिहरुसँग बसेर आवाश्यक छलफल गर्ने र सो देशको आकाशमा उड्नका लागि सहज वातावरण तयार गर्ने बताएका हुन् ।
आगामी डिसेम्बर ३० भित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेगरी काम अघि बढेको पनि उनको भनाइ छ ।
भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले गत ६ महिनाबाट पर्यटक आगमनमा सुधार आउन थालेको भन्दै आफूहरुले ‘डिजिटल प्रमोसन’मा ध्यान दिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थामा पनि सुधार भइरहेको र पूर्वाधार विकासमा पनि काम भइरहेको दाबी गरे ।
पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रको पूर्वाधारको विकासमा जोड दिनुपर्ने, बजारीकरण बलियो बनाइनुपर्ने र पर्यटकको संख्या बढाउनका लागि नीतिगत सुधार गर्नुपर्ने बताएका थिए ।
‘फेक रेस्क्यु’का कारण विश्व बजारमा नै अफवाह फैलिइरहेकाले नेपालले त्यस पक्षमा पनि ध्यान दिनुपर्ने तथा सरसफाइ, भिसा शुल्कलगायतमा सुधार गर्नुपर्ने उनीहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्