२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नेकपा गुटको प्रभाव संवैधानिक परिषदसम्म


0
Shares

यज्ञराज पाण्डे (इमेज)
काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको प्रभाव संवैधानिक परिषद्मासमेत देखिन थालेको छ ।

पार्टीभित्रको विवाद चर्किरहेकै बेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाउनु भएको थियो ।

तर, अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठकमा ‘कोरम’ नै नपुग्दा स्थगित भयो ।

पार्टीभित्रकै खिचातानीले सभामुख पनि बैठकमा जानु भएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक तयारीलाई लिएर विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।

शनिबार पनि उहाँहरुबीच भेट गर्ने तालिका भए पनि आन्तरिक छलफलपछि देउवा बालुवाटार जानु भएन ।

स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका प्रधानमन्त्री ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने तयारीमा हुनुहुन्थ्यो ।

पूर्व निर्धारित मिति अनुसार आइतबारकै लागि स्थायी कमिटी बैठक तय भए पनि ओलीले त्यसै दिनका लागि परिषद् बैठक बोलाउनु भयो ।

तर बैठकमा न देउवाको उपस्थिति रह्यो न त सभामूख अग्नि सापकोटाको ।

प्रचण्ड निकट मानिने सापकोटाको समेत अनुपस्थितिले कोरम नै नपुग्नु नेकपाभित्रको शक्तिसंघर्षको असर संवैधानिक परिषद्को बैठकमा समेत देखियो ।

प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा विपक्षी दलका नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश पदेन सदस्य रहने व्यवस्था छ  ।

उपसभामुख चयन नभएकाले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै छ  ।

परिषद्सम्बन्धी ऐनअनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ  ।

तर एकातिर लामो समयदेखि संवैधानिक निकायका पदाधिकारी रिक्त हुनु र अर्कातिर परिषद्को बैठक नै नबस्नुले दलहरुको कोपभाजनमा संवैधानिक परिषद् पर्दै गएको हो ।

त्यसो त संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन भएका छैनन् ।

१३ वटा संवैधानिक निकायमा अहिले प्रमुखसहित ४५ पद रिक्त छन्  ।

तर एक वर्षदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा संवैधानिक निकायहरुको कामकारबाही नराम्ररी प्रभावित भएको छ ।

भिडियो हेर्नुहोस्