८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


सौर्यऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक


0
Shares

काठमाडौं, साउन ४ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धी सम्झौतापत्रमा सहमति भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा शुक्रबार कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेसनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुँदे सम्झौता भएको हो ।

राष्ट्रिय महत्वका जलविद्युत् परियोजनाको विकासमा सहयोग गर्ने उद्देश्यले समझदारी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, अष्ट्रेलियाले पावरहाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमासमेत सहयोग गर्ने जनाइएको छ ।

यसैबीच, ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

अष्ट्रेलियन राजदूत बडले सौर्यऊर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक रहेको जानकारी गराएको जनाइएको छ ।

एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३०० मेगावाटको सोलार प्लान्ट स्थापना गर्ने इच्छा देखाएको जनाइएको छ ।