१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कैलालीमा मह उत्पादन बढ्यो


0
Shares

काठमाडौं, मंसिर २७ । कैलालीमा यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । यस वर्ष मौसमले साथ दिँदा मह उत्पादनमा वृद्धि भएको छ ।

शीतलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक किसानहरुले तीनपटकसम्म मह निकालिसकेका छन् । उत्पादनमा वृद्धि भएका बेला माग पनि बढेको छ ।

कोरोना कहरका बीच महले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गाह्रो भएको मौरीपालक किसान घनश्याम पौडेल बताउनुहुन्छ ।

महको माग वर्सेनि बढ्दै गएको पनि छ ।

कृषि ज्ञान केन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाटसमेत आयात गरिँदै आएको छ ।

जिल्लामा करिब २०० कृषकहरुले मौरीपालन व्यवसाय गरिरहेको र सरदर वार्षिक १५ टनसम्म मह उत्पादन भइरहेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

तराई क्षेत्रमा मौरीपालनका लागि तोरी खेतीबाहेकका अन्य ‘सिजनल’ र आवश्यक फलफूलजन्य कृषि उत्पादन नहुँदा चुनौती भने बढेको देखिन्छ । जसका कारण मौरी बोकेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने समस्या रहेकोे कृषहरु बताउँछन् ।