१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


खाद्यान्नमा बढ्यो मूल्य, चामल बोरामा १०० रुपैयाँसम्म बढ्यो


0
Shares

काठमाडौं, साउन ४ । आर्थिक वर्षको सुरुआतसँगै बजार भाउ आकासिएको छ ।

सरकारले बजेटमार्फत् राजश्वको दर हेरफेर गर्दा खाद्यान्नको भाउ बढेको हो ।

केही वस्तुहरुको भाउ बजेट घोषणालगत्तै बढेको थियो भने केही खाद्यान्नको भाउ नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको छ । यसको असर निरन्तर बजारमा देखिँदैछ ।

दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, गेडागुडीको भाउ आकासिएको छ ।

खुद्रा तथा किराना व्यवसायी संघकाअनुसार तेलको भाउ प्रतिलिटर १२० बाट १५ रुपैयाँ बढेर १३५ पुगेको छ ।

यस्तै, चामल प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ । दालको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ ।

अझै खाद्यान्नको मूल्यवृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

संघका अध्यक्ष पवित्रमान बज्राचार्य भन्सार दरका कारण आयातित खाद्यान्नमा अझै ५ प्रतिशत मूल्य बढ्नसक्ने बताउँछन् । यद्यपि, हल्लाअनुसार बजार भाउ भने नबढेको उनको दाबी छ ।

खाद्यान्नमात्रै होइन, इन्टरनेट, टेलिफोनलगायतका सेवामा पनि मूल्यवृद्धि भएको छ ।

इन्टरनेट, टेलिफोनको सेवाशुल्क तथा सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको मूल्य भने यसअघि नै बढिसकेको छ ।

खाद्यान्न आयात गरिने वस्तुहरुको करमा वृद्धि भएसँगै लागतमा पनि वृद्धि हुँदा त्यस्ता वस्तुहरुको मूल्य बढ्ने जनाइएको छ ।