उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतंकप्रति महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण « Image Khabar


उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतंकप्रति महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


इमेजखबर
२५ मंसिर २०७७, बिहीबार २०:३२

काठमाडौं, मंसिर २५ । नेपाल उद्योग वाणिज्य महासंघले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने तथा चन्दा आतंक बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी काम गर्ने वातावरण नभएको गुनासो गरेको हो ।

पछिल्लो समय व्यावसायिक मनोबलसमेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्नेमा महासंघले जोड दिएको छ ।

अध्यक्ष गोल्छाले कोभिड–१९ का कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञसमेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो ।

बजेट र मौद्रिक नीतिले उद्यमी–व्यवसायीका केही माग सम्बोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकोतर्फ पनि गोल्छाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुदृढीकरणका लागि सरकार तत्पर रहेको भन्दै ढुक्क भएर काम गर्न आश्वस्त तुल्याउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्