‘संक्रमणको जोखिम कम भएको छैन’ « Image Khabar


‘संक्रमणको जोखिम कम भएको छैन’


मीरा बस्नेत (इमेज)
२५ मंसिर २०७७, बिहीबार १९:४५

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दरमा कमी आएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने दैनिक अपडेटमा संक्रमण दर निरन्तर घटेको देखिन्छ ।

तर, सरकारी तथ्यांकले संक्रमण दर घटेको देखाएपनि विज्ञहरु भने यसलाई मान्न तयार छैनन् । सरकारी तथ्यांकले कोरोना महामारीको वास्तविकता दिन नसकेको उनीहरुको जिकिर छ ।

सरकारी तथ्यांक हेर्दा नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या घटिरहेको छ । सहर, बजारमा बढ्दो चहलपहलले पनि कोरोनाको जोखिम घटेको हो किजस्तो देखिन्छ ।

केही जनस्वास्थ्यविद्हरुले पनि जोखिम घटेको विश्लेषण गर्न थालेका छन् । तर, विज्ञहरु भने यसमा सहमत छैनन् ।

संक्रमणको दर घटिरहेको सरकारी तथ्यांकले झुक्याइरहेको र जोखिम अझै उस्तै रहेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय ‘पीसीआर’ परीक्षण १० हजारभन्दा कम छ । जसले संक्रमण प्रतिशतमा पनि कमी देखिएको छ ।

मंसिर १ गतेदेखि २५ गतेसम्म एक लाख ९४ हजार ५४७ जनामा परीक्षण गर्दा ३६ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ । यो कुल परीक्षणको करिब १९ प्रतिशत हो । जसले नेपालमा संक्रमण दरमा कमी आएको भन्न नसकिने विज्ञहरुको मत छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन सरकारले हालै सुरु गरिएको एन्टिजेन टेस्टले पनि कुल परीक्षणको १० प्रतिशतमा संक्रमण देखाएको भएको भन्दै यसबाट संक्रमितको संख्यामा कम नभएको पुष्टि भएको बताउनुभयो ।

यता, शिक्षण अस्पताल कोभिड युनिटका डा. सबिन थपलियाले भने धेरैजसो संक्रमित ‘होम आइसोलेसन’मा रहेकाले अस्पतालमा कोरोनाका बिरामीको चाप कम भएको र संक्रमितको दरमा पनि कमी आएको जिकिर गर्नुहुन्छ ।

मंसिर महिनामा संक्रमण दरमा कमी देखिएपनि मृत्युदर भने बढिरहेको छ । दैनिक १६ जनाको हाराहारीमा मृत्यु भइरहेको छ ।

तथ्यांकले संक्रमणको दर घटेको देखाएपनि हामी संक्रमणको कुन अवस्थामा छौं भन्ने यकिन गर्न सकिने अवस्था पनि छैन । परीक्षण कम गरेर संक्रमणको दरमा कमी आएको दाबी गर्दा महामारीले झन् भयावह रुप लिनसक्नेतर्फ बेलैमा सचेत हुनु आवश्यक छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्