५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


माफीयासँग पुजारीको साँठगाँठ : जनकपुरका ४० भन्दा बढी मठमन्दिर लोप (भिडियो)


0
Shares

नवीन सिंह/ईमेज

जनकपुर । मठमन्दिरको नगरको रुपमा परिचित जनकपुरधाममा दुई दशकयता ४० वटाभन्दा बढी मठमन्दिर लोप भइसकेका छन् ।

संरक्षकका रुपमा रहेका पुजारी तथा महन्त नै भू–माफियासँग मिलेमतोमा लागेपछि जनकपुरधामका अधिकांश मठमन्दिरको अस्तित्व संकटमा परेको हो ।

केही समय पहिले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा जानकी मन्दिरलगायतका धार्मिक स्थलको अवलोकनका लागि दर्शनार्थीको घुइँचो नै लाग्ने गथ्र्योे ।

स्वदेशी र विदेशी साधुसन्त जनकपुरमा आएर भजनकीर्तनमा मन्त्रमुग्ध बन्दथे भक्तजनमा पनि ठूलो भक्तिभाव थियो ।

तर अहिले भूमाफियाको चंगुलमा परेर मन्दिरका जग्गा मात्रै स्वाहा भएका छैनन्, देवस्थल मानिने कैयौँ मन्दिरहरु पनि लोप भइसकेका छन् ।

पछिल्ला दुई दशकको बीचमा दानबाट पाएका जग्गाहरु कतिपयले व्यक्तिको नाममा नामसारी गरे भने मुर्ति चोर्ने र बेच्ने शृंखला पनि जारी रह्यो ।

मन्दिर संरक्षणको जिम्मेबारी लिएका कतिपय महन्त तथा पुजारी नै भूमाफियासँग मिलेर जग्गा बिक्री गरेपछि मन्दिरको विकास विस्तारमा तगारो थपियोे ।

धर्मप्रतिको आस्था, विश्वास, नभएका अनुचित महन्तहरु नियुक्ति भएकाले मन्दिर विनाश हुँदै गएको जनकपुर सुन्दर सदनका महन्त नवलकिशोर शरणको भनाइ छ । 

जनकपुर उपमहानगरपालिकाको बागवनी फार्ममा अवस्थित वीरपुर राधाकृष्ण मन्दिर आवासमा परिणत भएपछि मन्दिरको कुनै अत्तोपत्तो छैन ।

त्यस्तै जनकपुर अंचल अस्पताल नजिकैको सियाबिहारी कुटि रासबिहारी कुटि, युगलबाबा कुटि,रेवासी माईजी कुटीलगायतका दर्जनौँ कुटिहरुले अहिले अस्तित्व गुमाइसकेका छन् भने त्यहाँको जग्गा पनि हडपिएको छ ।

गुठी संस्थान जनकपुरका प्रमुख मनोज शर्मा आफूहरुले गुठी संस्थानको अधिनस्थ जग्गाको मात्रै संरक्षण गर्ने गरेको बताउँछन् ।

पवित्र र पावन क्षेत्रका रुपमा रहेको जनकपुरधामको सांस्कृतिक सम्पन्नतालाई अधपतनतर्फ उन्मुख गराउने प्रवृत्तिको विरुद्धमा सशक्त कदम चाल्नुपर्ने देखिन्छ ।