च्याम्पियन्स लिगः मड्रिडसहित ७ टोली नक आउट चरणमा प्रवेश « Image Khabar


च्याम्पियन्स लिगः मड्रिडसहित ७ टोली नक आउट चरणमा प्रवेश


Imagekhabar
२५ मंसिर २०७७, बिहीबार ०९:२३

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएरातिका खेलहरुपछि स्पेनिस फुटबल क्लब रियाल मड्रिडसहितका ७ टोली नक आउट चरणमा प्रवेश गरेका छन् ।

जित्नैपर्ने दबाबमा रहेको रियाल मड्रिडले गएराति जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पाखा लगायो ।

समुहको अर्को खेलमा इटालीको इन्टर मिलानले युक्रेनको शख्तरसँग गोलरहित बराबरी खेल्यो ।

रंगभेदी टिप्पणीपछि मंगलबार राति रोकिएको खेल हिजो पुनः खेलाइँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टर्कीको इस्तानबुल बसाक्शेरलाई ५–१ ले पाखा लगायो । जितसँगै पिएसजी पनि नक आउट चरणमा उक्लियो ।

गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।

यसपटक स्पेन र जर्मनीबाट चार चार वटा टोली नक आउट चरणमा पुग्दा इंग्ल्याण्ड र इटालीबाट तीन तीन वटा टोलीले ठाउँ बनाएका छन् ।

यसैगरी फ्रान्स र पोर्चुगलबाट एक एक वटा टोली अन्तिम १६ मा पुगेका छन् ।

अन्तिम १६ मा पुगेका मध्ये जर्मनीको बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड, इंग्ल्याण्डका चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटी, इटालीको युभेन्टस, स्पेनको रियाल मड्रिड तथा फ्रान्सको पेरिस सेन्ट जमेर्न (पिएसजी)लाई वरियतामा राखिएको छ ।

राउण्ड अफ सिक्सटिनको खेल तालिका निकालिंदा यी ८ टोलीले स्पेनको बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिया, इटालीको एटलान्टा र लाजियो, जर्मनीको आर.बी लेप्जीग र बोरुसिया एम्ब्याच तथा पोर्चुगलको एफ.सी पोर्टोसँग खेल्नेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्