‘नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर’ « Image Khabar


‘नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर’


इमेजखबर
२४ मंसिर २०७७, बुधबार १५:४६

काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको बताउनुभयो ।

साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो ।

कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्‍याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिनुभयो ।

नवप्रवर्तन उद्योगहरुमा पुँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्नेतर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता नेपालले नवप्रवर्तन उद्योगको पुँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

उहाँले किसानले उत्पादन गरेका सबै वस्तुको बिक्री हुने ग्यारेन्टी सरकारले लिएमा व्यावसायिक कृषि उत्पादनतर्फ युवाहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्