कमजोर प्रतिपक्ष र गुमनाम नागरिक समाज « Image Khabar


कमजोर प्रतिपक्ष र गुमनाम नागरिक समाज


Imagekhabar
२३ मंसिर २०७७, मंगलवार ११:२०

sanjib karki article

संजिव कार्की ।

नागरिक समाज स्थायी प्रतिपक्षी र जनताको बलियो सारथी भयो भने राजनीतिक दलहरू बरालिने सम्भावना कम हुन्छ भन्ने आम मान्यता र राजनीतिशास्त्रको बुझाई छ । समाजको प्रबुद्द वर्गले जहिल्यै नीति र नैतिकताको पृष्ठपोषण गरेर आफ्नो बौद्दिक र विवेकको परिचयको अपेक्षा गरिन्छ । राजनीतिशास्त्र भन्छ सत्ता र प्रतिपक्षले मात्र राज्य अपुरो र अधुरो हुन्छ । हरेक समाजमा दबाब समूह हुनुपर्छ जसले राज्यको अभिन्न अंगका रुपमा संस्थापनको खबरदारी गर्छ र जनपक्षीय निर्णय गर्न बाध्य बनाउँछ । सत्ता पक्ष र प्रतिपक्षले मात्र देशको न्याय प्रणाली चल्दैन । सत्ता र प्रतिपक्षले कहिलेकाँही आफ्नो स्वार्थ अनुकुल बन्दा रास्ट्रघात हुने र नीतिगत भ्रष्टाचार गर्ने गलत काम, खराब नजिर बसाउन सक्छन । दलहरुले आफ्ना हर्कतलाई बैधानिकताको खोल ओढाएर पुष्टी गर्ने जमर्को गर्छन् त्यस्तो बेला प्रतिपक्षको रुपमा नागरिक समाज र नागरिक आवाज जरुरि हुन्छ ।

जस्तो कि नेपालमा महाकाली सन्धि प्रमुख प्रतिपक्ष र सत्तापक्षको एकै नाभी जोडिएको एक उदाहरण हो यस्तो बेला नागरिक समाजको खाँचो र अभाव खड्किन्छ । नागरिक समाज भन्नाले कुनै राजकीय पद बिभिन्न अवसर र नियुक्तिको आस राखेर काम नगर्ने आफ्नो क्षेत्र र सीपमा दत्तचित्त अब्बल नेपाली नागरिक हुन् । उनीहरु बिभिन्न क्षेत्र आयाम र परिधिका हुन्छन् । जस्तो कलाकार, साहित्यकार, समाजसेवी, प्राध्यापक, डाक्टर ,इन्जिनियर, वकिल लगायत समाजका अनेकन क्षेत्र र ठाउँमा आफ्नो नाम राखेका लब्धप्रतिष्ठित व्यक्तिहरुको समूह हो । जसको बोलीमा दम हुन्छ ।

यिनीहरुले बोलेपछि राज्यमा त्यसको अर्थ र महत्व झल्कन्छ । कुनै पनि विषय उठान र बैठानमा उनीहरुको मनशाय र विचारलाई प्राथमिकता दिइन्छ । जनस्तरमा उनीहरुप्रति ठूलो श्रदा विश्वास र भरोषा जीवित रहेको हुन्छ । सत्तालाई र प्रतिपक्षलाई ठीक बाटो देखाउने उज्यालो मार्गको रुपमा नागरिक समाजलाई लिने गरिन्छ । देशहित नै जीवनको मूल मन्त्र र अभिष्ट राख्ने नागरिक समाज कुनै पनि राजनीतिक दलको वाद र सिद्धान्तले प्रभावित बन्दैन भन्ने आम धारणा विद्यमान छ । दलीय दाम्लो र अनुशासनको परिधि बाहिर रहने केवल देशको माया गर्ने र देशलाई उपयुक्त बौद्धिक उर्जा र तागत दिने व्यक्तिहरुको समूह नै नागरिक समाजको नामले पुकारिन्छ ।

देशलाई परेको बेला आफ्नो ज्ञान, सीप र क्षमताले सिंचित गर्ने बौद्दिक सल्लाह र मार्गनिर्देशन गर्ने सामर्थ्य नागरिक समाजको पहिचान हो । तटस्थता र निर्भिकतापूर्वक देसका खातिर, नागरिकको पक्षमा अनि जनताको पीरमर्का र अप्ठ्यारोमा बोल्ने लेख्ने खबरदारी गर्ने जमात हो नागरिक समाज । विषय विज्ञ र अनेकन सल्लाहकार समूह भनेर बेतनधारीलाई राज्यले नियुक्ति गरेको हुन्छ । तर यस्ता समूह र बेतनधारीहरु फगत आफ्ना मालिकको भक्त र आफ्नो तलबका ताबेदार मात्र रहन्छन्, निर्भिक र तटस्थ बनेर राज्यलाई सल्लाह र आफ्नो विज्ञता दिदैनन या दिन चाहदैनन् आफ्नो पदलाई जोखिममा राखेर आफूलाई नियुक्ति दिनेको विपक्षमा मत अभिव्यक्त गर्न सक्षम छैनन् यो आजको तीतो वास्तविकता हो । यदि कोही बेतनधारी इमान्दार छन् भने पनि अत्यन्त नगन्य मान्छेहरु मात्रै छन् तसर्थ नागरिक समाजको भूमिका र महत्व बढी हुन्छ ।

समाजको फरक फरक क्षेत्रमा विशिस्टता हासिल गर्ने समूहको संजाल नागरिक समाज भएकोले उसको क्षमता, इमान र विज्ञता राज्यको सम्पति हो । राजनीति गर्ने दल तिनका नेता कार्यकर्ताहरुको दलीय स्वार्थ हुन्छ । उनीहरु देशको प्रतिकूल भए पनि पार्टी र नेताको प्रतिकूल निर्णय गर्न चाहदैनन् । दलीय अनुशासन पद्दति र प्रक्रियाको सांग्लोले उनीहरु बन्धनमा हुन्छन् । दलीय अनुसाशन र अडानको नाममा विवेक पनि बन्धक राख्ने परिपाटी बसेको हाम्रो जस्तो मुलुकमा नागरिक समाज र यसको भूमिका र महत्व धेरै छ तथापी नागरिक समाजको सुस्तता, दलीय आबद्द्ता र खण्डीकृत शक्तिको कारण यसले आफ्नो प्रारूपअनुसार हालका दिनहरुमा काम गर्न सकिरहेको छैन ।

२०४६ सालको परिवर्तन त्यसको संस्थागत विकास अनि २०६२ ,०६३ को परिवर्तनमा जुन अहम भूमिका र शक्ति नागरिक समाजमा थियो त्यो आज क्षय भएको छ । सत्तापक्ष एकदमै बलियो, प्रतिपक्ष निरह भएको बेला नागरिक समाज एक दल बराबर देखिनु पर्ने हो तर त्यो देखिएको छैन । दुर्भाग्य हिजोको शक्तिशाली प्रभुत्वशाली नागरिक समाज आज छिन्नभिन्न छ । लाखापाखा छ । केही आवाजहरु नागरिक समाजको नाममा उठेका छन् तर तिनीहरु पनि बायस्ड बनेको र पक्षधरता उन्मुख भनेर आलोचित बनेको पाइन्छ । ठूलो तप्का हस्तक्षेपकारी आग्रह बोकेर निस्केको छैन जति निस्कनु पर्थ्यो । एमसीसी विवाद जस्ता विषयमा नागरिक समाजको एक मुख र आवज गुन्जन भएन ।

निश्चित उदेश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको संगठन जसलाई समाज रुपान्तरणको आधार निर्माणको रुपमा ब्याख्या बिश्लेषण र परिभाषित गरेको देखिन्छ । नागरिक समाजले सरकार, प्रतिपक्ष र अन्य दलहरुको मात्रै खबरदारी गर्दैन, यसले त नागरिक हक र दायित्व र प्रत्येक नागरिकको कर्तव्य र समाजमा निर्वाह गर्नुपर्ने भूमिकाको पनि खबरदारी र मार्गनिर्देश गर्दछ । अधिकारको मात्रै कुरा गर्ने र कर्तव्य चै रौ बराबर पनि गर्न नचाहने प्रवृतिको बिरुद्द नागरिक समाजको औला समाजमा तेर्सिनु पर्छ । भ्रस्टाचार निवारण र सु–शासनका विषयदेखि सीमा विवाद जस्ता कुरामा कूटनीतिक भूमिका पनि नागरिक समाजको तर्फबाट खेलिनु उपयुक्त हुन्छ । दीगो शान्ति, अमनचयन र सामाजिक सुरक्षा प्रबन्ध जस्ता कुरामा सरकारलाई सहयोग गर्दै प्रेरित गर्दै खबरदारी गर्दै अघि बढ्नु नागरिक समाजको दायित्व भित्र राख्न सकिन्छ ।

समाजमा ब्याप्त अन्धविश्वास जातीय विभेद, लैंगिक विभेद र कुरीति र कुसंस्कृतिलाई उखेल्न समाजलाई नयाँ मनोविज्ञान सिर्जना गर्न प्रगतिशील समाज निर्माण गर्न नागरिक समाजका हरेक सदस्य उल्लेखनीय र उदाहरण योग्य बन्नु जरुरि देखिन्छ । नागरिक समाज सिंगो समाजको सबल र खँदिलो आवाज हो जसले हर नागरिकको प्रतिनिधि आवाज बोकेको हुन्छ । जनताका जल्दाबल्दा समस्यालाई प्रतिनिधित्व गर्दै समाजका बिकृति र विसंगतिलाई उँधो मुन्टो लगाएर पछार्न जनता जागृत गर्ने अभिभारा पनि स्वतन्त्र नागरिक समाजका सदस्यहरूको हो भन्ने कुरामा दुविधा छैन । प्रत्यक्ष रुपमा शासन सत्तामा सहभागी नभएर पनि शासन सत्ता चलाउन सिकाउने सभ्य जमात भनेर नागरिक समाजको परिचय बनेको हुन्छ । समाजप्रति समर्पित प्रजातन्त्रप्रति प्रतिबद्द, मानवाधिकार र स्वतन्त्रताका हिमायती, राजनीतिमा प्रत्यक्ष असंलग्न, अग्रगामी सुधार र परिवर्तनको पक्षपाती निष्ठावान नागरिक समूह नै समाजका अग्रज र भरोषा योग्य व्यक्तित्व हुन् ।

नागरिक समाजका आफ्नै छुटै विशिष्ट विशेषता र गुणहरु हुन्छन । नागरिक समाज गैर नाफामूलक व्यक्ति या समुह हो । नागरिक समाज आफैमा सचेत सबल र स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरुको समूह भएकोले यिनीहरु कसैको दबाब र प्रभावमा हुदैंनन् । आत्म अनुशासनमा बस्ने र राष्ट्रलाई सकारात्मक बाटोमा हिडाउन दबाबमूलक बन्न सक्छन् । सरकारी नियम कानुनको कार्यान्वयन र नियमन, अनुगमन र कानुनको परिपुरक कानुनको माग गरेर नागरिकका माग र समस्या समाधानमा जोड दिन्छ्न् ।

समाजका पिछडिएका जाति, समुदाय र सम्प्रदायलाई मूल धारमा ल्याएर सबैको राज्य र सबैका लागि राज्यको अबधारणा मजबूत बनाएर समाजलाई एक ढिक्का बनाउन विशेष योगदान गर्न सक्छन् । नागरिक समाजको ब्यानरमा सबैलाई राख्न र बस्न सहज हुने भएकोले यसको अपरिहार्यता सदैव रहन्छ । विभिन्न समय र कालखण्डका राजनीतिक परिवर्तनमा नागरिक समाजको भूमिका संलग्नता र नेतृत्व ऐतिहासिक छ सो भूमिका आज पर्यन्त उस्तै आवश्यक छ । परिवर्तित सन्दर्भ र समयमा सो मुताबिक भूमिकाहरू पनि परिवर्ननशील र अग्रगामी बन्छन् ।

नागरिक समाजको सदस्य बन्न स्वदेश मै रहनुपर्छ भन्ने पनि छैन बिदेशमै बसेर पनि खबरदारी गर्न, सल्लाह सुझाव दिन र आफ्नो विज्ञता प्रकट गर्ने अवसर र अवस्था नयाँ प्रविधि र विज्ञान द्वरा सिर्जित छ । नयाँ नयाँ समस्या तिनको नयाँ स्वरूप हुने हुनाले जहिल्यै एकै खालको मुद्दा र विषय नागरिक समाजको सबाल बन्दैन । बदलिँदो परिवेश समय र घटनाक्रम अनुसार नागरिक समाजको भूमिकामा पनि रुपान्तरण खोजिन्छ । विश्व कोभिडको महासंकट झेल्दैछ । हामी पनि देशमा यसको असरले आक्रान्त छौ । सरकार आफै अलमलिएको छ देशको सर्वशक्तिवान पार्टी विवादको तातो भुंग्रोमा छ ।

प्रमुख प्रतिपक्षी पार्टी अझै बौरिएको छैन । ऊ आफ्नो हारलाई स्वाभाविक मान्न नसकेर नै प्रतिपक्षी भूमिकामा अब्बल छैन । यस्तो बेला नागरिक समाज पनि सुस्त र जुम्सो देखिएको छ । रास्ट्र गम्भीर संकटमा छ । पार्टीहरु बिग्रह र विखण्डनको चपेटामा किंकर्तब्यबिमुढ छन् । यसर्थ नागरिक समाजको मार्गनिर्देशन र रोड म्याप पार्टीहरुको लागि आवश्यक छ । आम नागरिकको जनजिविकाको सवाल स्वास्थ्य सेवामा पहुँचसहितको उपचारको हक, शिक्षाले लिन नसकेको गति आदिबारे गहन र बृहत्तर योजना सहित सरकार र देशलाई नेतृत्व र सल्लाह सुझाव र सोलुसन चाहेको देखिन्छ ।

दक्षिण एशियामा नै भ्रष्टाचारमा एक नम्बरमा नाम ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवदनमा आएको कुराबारे पनि नागरिक समाजले सोध, खोज र तथ्य सत्य स्पष्ट पार्न आफ्नो भूमिका खोज्नुपर्छ । आ–आफ्ना आग्रह मूढाग्रह सबै छोडेर पुराना चिनिएका विगतमा पनि यथेष्ट योगदान गरेका समाजमा छाप भएका अगुवा अभियन्ताहरु देखि पछिल्लो पुस्ताका चर्चित अभियन्ता नवयुवा युवतीहरु नागरिक समाजको ब्यानर बोकेर निस्कँदा देशको समस्याको हल छिटो भेटिन्छ ।

देशले नागरिक नेताको कर्तव्य र भूमिका पनि जोडतोडले खोजेको छ । सरकार भद्रगोल, पार्टीहरु बर्बाद, अनि नागरिक समाज पनि सुस्त र जुम्सो भयो भने देश अस्वाभाविक सुस्तता र रिक्तताको खाडलमा जाकिने छ । यस्तो बेला अनपेक्षित घटना र दुर्घटना आइलाग्यो भने त्यो टार्ने औकात नहुन सक्छ । तसर्थ समयमा नै चेत खुलेको राम्रो । गुमनाम बन्दै गरेको नागरिक समाजको खाँचो मुलुकले बोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्