
काठमाडौं, साउन २१ । नापतौल तथा गुणस्तर विभागले सबै ट्याक्सीहरुमा प्रिन्टरसहितको मिटर जडानको काम सकिएको जनाएको छ ।
विभागले दुई वर्षदेखि ट्याक्सीमा आधुनिक मिटर राख्नुपर्ने व्यवस्था गरेको थियो ।
पछिल्लो समय विभागमा दर्ता भएकामध्ये शतप्रतिशत ट्याक्सीमा मिटर जडान गरिएको विभागले जनाएको हो ।
विभागमा दर्ता भएका १० हजार १९९ ट्याक्सीमध्ये ८ हजार ५७१ ट्याक्सीमा प्रिन्टर जडान भएको छ भने एक हजार ६२८ ट्याक्सी ‘स्क्य्राब’मा गएको विभागको भनाइ छ ।
मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही तथा सजाय भइरहेको पनि विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
गएको असार ३१ गतेबाट ६ हजार ५९५ ट्याक्सीमा भाडा समायोजन गरेपछि ट्याक्सी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका थिए ।
यस्तै, विभागमा कर्मचारी अभावका कारण प्रयोगशालामा काम तथा अनुगमन प्रभावकारीरुपमा अगाडि बढाउन नसकिएको पनि विभागले जनाएको छ ।
२०४४ सालदेखि हालसम्म पनि एउटै संख्यामा रहेका कर्मचारीलेमात्रै सेवा दिनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्