Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


जल सुरक्षासम्बन्धी वेबिनार मंगलबारदेखि


0
Shares

काठमाडौं, मंसिर २२ । जल सुरक्षासम्बन्धी चारदिवसीय अन्तर्राष्ट्रिय वेबिनार मंगलबार (भोलि)देखि सुरु हुँदैछ ।

‘भविष्यका लागि जल सुरक्षा मञ्च २०२०’ विषयक अन्तर्राष्ट्रिय वेबिनारमा नेपाल र दक्षिण कोरियाका गरी १६ जना जलसम्बन्धी नीति निर्माता, वैज्ञानिक, प्राध्यापक र अनुसन्धानकर्ताहरुको सहभागिता हुने जनाइएको छ ।

मंसिर २३ देखि २६ गतेसम्म चल्ने वेबिनारमा जलवायु परिर्वतनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कम गर्न अपनाउनुपर्ने उपाय, पानीको प्राकृतिक स्रोतको संरक्षण, वर्षाको पानी संकलन, भन्डारण, प्रशोधन र वितरण, पानीको गुणस्तर, पानीको प्रशोधन तथा पुनःउपयोगबारे विज्ञहरुले प्रस्तुति दिनेछन् ।

स्मार्ट वास सोलुसन्स र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्वन हाइड्रो इनफरमेटिक्सको संयुक्त आयोजनामा भर्जुअल माध्यमबाट हुने सम्मेलनमा जलसुरक्षाको भविष्य, जल सुरक्षा, जल सुरक्षाको लागि आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा तयार पारिएका १५ ओटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रस्तुत कार्यपत्रमाथि यस क्षेत्रका विज्ञ, अभ्यासकर्ता र उपभोक्ताले टिप्पणी गर्नुहुनेछ ।

वेबिनारमा प्रस्तुत कार्यपत्र तथा विज्ञहरुका विचार र निष्कर्षहरुलाई तीनै तहका सरकार, नीति निर्माता, योजनाविद्, उपभोक्तासम्म पुर्‍याइ नेपाललाई जल सुरक्षा पर्याप्त भएको मुलुकका रुपमा अगाडि बढाउन प्रयास गर्ने आयोजकको उद्देश्य छ ।