९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


किसानले सडकमा मिल्काए गोलभेंडा


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, साउन ४ । पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकामा एक महिनादेखि गोलभेंडाको निर्यात ठप्प भएपछि किसानले आफूले उत्पादन गरेको पाकेको गोलभेंडा सडकमा मिल्काएर सांकेतिक विरोध गरेका छन् ।

व्यापारीले पनि नकिन्ने र पाकेको गोलभेंडा बारीमै कुहिन थालेपछि सयौं किसानले हिलिहाङ गाउँपालिका–१, भालुभोकमा गोलभेंडा सडकमा घोप्ट्याएर सांकेतिक विरोध गरेका हुन् ।

यहाँ उत्पादित गोलभेंडा पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात हुने गरेको थियो ।

तर, भारत निकासी हुने कृषिउपजको सूचीमा नपरेको भन्दै भारतले निर्यात रोक्दा कृषकको लगानी र परिश्रम बालुवामा पानीजस्तै बनेको हो ।

सडककिनारामा गोलभेंडा मिल्काउँदा उक्त क्षेत्र दुर्गन्धित बनेको छ ।

किसानहरुको एक समूहले प्रदेश नम्बर–१ को सरकारसमक्ष समस्या पुर्‍याएपनि कुनै समाधन नभएको हो ।

गोलभेंडा निकासीको व्यवस्था नमिलाए मेची राजमार्गमा यातायात नै ठप्प पार्ने चेतावनी उनीहरुले दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले याङवरक र हिलिहाङ गाउँपालिकालाई गोलभेंडाको ‘पकेट क्षेत्र’ घोषणा गरी गोलभेंडा खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

पाँचथरबाट वर्षेनि करिब साढे तीन करोड रुपैयाँको गोलभेंडा निर्यात हुने गरेको छ ।