२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको मंगलबारदेखि सेयर कारोबार


0
Shares

काठमाडौं, साउन २० । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको मंगलबारदेखि सेयर कारोबार सुरु हुँदैछ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच सोमबार सूचीकरण सम्झौता भएसँगै मंगलबारदेखि कारोबार सुरु हुने भएको हो ।

सान्जेनको तीन करोड २८ लाख ५० हजार कित्ता र रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता सेयर सूचीकरण भएको हो ।

सान्जेनले कारोबारका लागि ‘एसजेसीएल’ संकेत पाएको छ । नेप्सेले यसको ‘प्रिओपनिङ’ कारोबारका लागि ९६ रुपैयाँ ३२ पैसादेखि २८८ रुपैयाँ ९६ पैसा ‘प्राइस रेन्ज’ तोकेको छ ।

यस्तै, ‘आरएचपीएल’ संकेत पाएको रसुवागढीको प्रिओपनिङ प्राइस रेन्ज ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

प्राथमिक सेयर निष्कासन भइ बाँडफाँट भएको करिब साढे तीन महिनापछि यी दुई कम्पनीका सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यी आयोजनाले स्थानीय जनतालाई लगानी वृद्धि गर्नका लागि सहयोग पुर्‍याउने एवं धेरै लगानीकर्ता आवद्ध भएकाले औपचारिक कार्यक्रम गरी सूचीकरण सम्झौता गरिएको बताए ।

माथिल्लो सान्जेनको काम ८० प्रतिशत सकिएको र यसै आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।