प्रकाश लम्साल
बारा, साउन २० । अधिकांश स्थानीय तहका सरकारमा बेथिति मौलाउँदै गइरहेका बेला बाराको निजगढ नगरपालिकामा भने उत्साह छाएको छ । नगरपालिकाका प्रमुख सुरेश खनालका कार्यको प्रशंसा जनतामात्र होइन, विपक्षी दलले समेत गर्न थालेका छन् ।
स्थानीय तहको निर्वाचनका बेला देखिएको उत्साहलाई निजगढ नगरपालिका प्रमुख खनालले कायमै राखेका हुन् । जिल्लाका १६ स्थानीय तहमध्येका ४ नगरपालिकामा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार र उजुरीका घटना बढ्दै गइरहेका बेला निजगढ नगरपालिकाले भने कार्यविधि अनुसार काम गरिरहेको छ ।
नगरभित्रका भौतिक पुर्वाधार निर्माण, स्मार्ट सिटी तथा सुशासनलगायतका पूर्वप्रतिबद्धतामा धमाधम काम सुरु भएको छ । विगतमा सामाजिक काम गर्दै आएको र लगनशीलताका कारण मेयर लोकप्रिय बन्दै गएको शिक्षक सुनिल गाउँले बताउँछन् ।
नेकपाबाट निर्वाचित नगर उपप्रमुख लीलादेवी लामिछाने नगरप्रमुख विकासको कार्यमा गतिशील भएको तर कामको अरुले अपनत्व लिन्छन् भनेर कतिपय सूचना छिटो नदिने गरेको धारणा राख्छिन् ।
जिल्ला न्यायाधीश र वकिलहरुको अध्ययनले पनि यस नगरपालिकाको न्यायिक समितिलाई जिल्लाकै उत्कृष्ट भएको मूल्यांकन गरेको थियो । नगरपालिकाभित्रका ५ वटा दुर्गम वडालाई चकपथ सडक जोडिने गरी गुरुयोजना तयार थालिएको छ । राजश्व कृषि, शिक्षा, सहकारीलगायतका क्षेत्रको प्रगति अनुगमन, आधुनिकीकरण र गुणस्तर वृद्धिका लागि सफ्ट्वेटरमा आधारित प्रणाली सुरुवात भएको छ ।
त्यस्तै, नगरभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि भौतिक पूर्वाधार द्रूत गतिमा अगाडि बढेको छ ।
यता, नगरप्रमुख खनाल आफू जस लिनको लागि भन्दा पनि पदीय जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्न लागेको बताउँछन् ।
जनपक्षीय र इमान्दार भएर काम गर्न सके त्यसको प्रशंसा आफूले गर्नु पर्दैन, अरुले नै गरिदिन्छन् भन्ने कुरा सबै पदाधिकारीले बुझ्न आवश्यक छ ।




प्रतिक्रिया दिनुहोस्