११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


अदुवाको मूल्य तीन गुणा बढ्यो, कृषक उत्साहित


0
Shares

पाँचथर, साउन २० । गत वर्षको तुलनामा अदुवाको मूल्य यस वर्ष तीन गुणाले बृद्धि भएपछि पूर्वी पहाडी जिल्लाका कृषक उत्साहित भएका छन् ।

गत वर्ष २ हजार रुपैयाँ प्रतिमनमा बिक्री भएको अदुवा यस वर्ष ७ हजार ५ सय रुपैयाँ प्रतिमनमा बिक्री हुन थालेपछि कृषक उत्साहित भएका हुन् ।

अदुवाको माउ बेच्ने समय सुरु भएसँगै अदुवा व्यापारीहरु अहिले कृषकका घरघरमा पुग्ने गरेका छन् । फागुन र चैतमा रोपिएको अदुवाको माउ निकाल्ने समय भएपछि अदुवा खरिदका लागि व्यापारीहरु कृषकको घर–घरमा पुगेका हुन् ।

यस वर्ष अदुवाको मूल्य बढेपछि आफूहरु उत्साहित भएको स्थानीय बताउँछन् । यहाँ उत्पादित अदुवा ९० प्रतिशत झापाको काँकडभिट्टा नाका हुँदै भारत र १० प्रतिशत बंगलादेशमा निर्यात हुँदै आएको छ ।

जिल्लाको कुम्मायक र हिलिहाङ गाउँपालिकामा अदुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेती गरिन्छ ।

अघिल्लो वर्ष पाँचथरमा ७ हजार ५ सय ६० मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए ।