
काठमाडौं, साउन १९ । पछिल्लो समय बम विस्फोट तथा आगजनीका गतिविधिलाई तीव्रता दिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आक्रमणको मुख्य निशाना एनसेलका टावरलाई बनाएको छ ।
देशभरीका दर्जनौँ टावरमा आगजनी गरिरहेकोे सो समूहले गत सातामात्रै देशभरका ३ दर्जनबढी टावरमा आक्रमण गर्दा दुर्गम क्षेत्रको टेलिफोन सेवा अवरुद्ध बनेको छ ।
एक साता यता विप्लव समूहले देशका विभिन्न २१ जिल्लाका ३ दर्जनजति एनसेलका टावरमा क्षति पुर्याएको छ भने नेपाल टेलिकमको एउटा टावरमा आक्रमण गरेको छ । डोटी, डडेल्धुरा, बझाङ, अछाम, नुवाकोट, धादिङ, लगायतका २१ जिल्लाका विभिन्न ठाउँका टावरमा आगजनी तथा विस्फोट गराइएको हो ।
आक्रमणमा देशका पश्चिमी क्षेत्रका टावरमा बढी क्षति पुगेको बताइएको छ । एनसेलका टावरमाथि आक्रमण गर्दा विशेष गरी दुर्गम क्षेत्रका बासिन्दाले सञ्चार सेवाबाट बञ्चित बन्नुपरेको गुनासो गरेका छन् ।
आफूहरुमाथि सरकारले प्रतिबन्ध लगाउनुमा एनसेल पनि कारण भएकाले कारबाहीस्वरुप आक्रमण गरेको विप्लव समूहले बताउँदै आएको छ । विभिन्न बहाना देखाएर अनाहकमा सेवाग्राहीलाई झन्झट दिँदा आम जनतामा असन्तुष्टि पैदा भएको छ । असन्तुष्टि र विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न छाडेर अन्य ध्वंसात्मक गतिविधि गर्नु कुनै हालतमा जायज देखिन्न ।
प्रतिक्रिया दिनुहोस्