
हिमाल पौडेल (इमेज)
इटाली, साउन १८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकको समृद्धिका लागि गैरआवासीय नेपालीहरूको पनि सहयोग र योगदान आवश्यक रहेको बताएका छन् ।
सन् २०३० सम्म मुलुकलाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न स्वदेशी लगानीलेमात्रै नहुने भन्दै उनले वैदेशिक लगानी भित्र्याउन भूमिका खेल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गरे ।
मुलुकमा लगानीकर्ताको लगानी सुरक्षा गर्नेलगायत लगानीकर्तालाई सहजताको वातावरण बनाइएको उनको भनाइ थियो ।
शनिबार गैरआवासीय नेपाली (एनआरएनए)को १२औं युरोपियन क्षेत्रीय बैठकको इटालीको रोममा उद्घाटन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
देश बनाउन पुँजीमात्रैले नहुने भन्दै उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि भित्र्याउन र भूमिका खेल्न आग्रह गरे ।
मन्त्री ढकालले संविधानले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था गरेको भन्दै सोहीअनुसार विधेयकको मस्यौदा बनिरहेको पनि बताए । मस्यौदा बनेपछि संघसँग छलफल गर्ने उनले उल्लेख गरे ।
सरकार ‘एकपटकको नेपाली, सधैंको नेपाली’प्रति प्रतिबद्ध रहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको विकासका लागि सडक पूर्वाधार, पर्यटन क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
नेपालमा कुन दलको सरकार छ नभनी मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने बेला आएको उनले बताए ।
विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि भित्र्याउने माध्यम गैरआवासीय नेपाली हुनुपर्ने भन्दै उनले देशको पहिलो आवश्यकता सडक पूर्वाधार रहेकोमा जोड दिए ।
पर्यटन नेपालको मौलिक पक्ष रहेको भन्दै गैरआवासीय नेपालीले युुरोपलगायतका मुलुकमा पर्यटन प्रवद्र्धनको काम गरेकोमा उनले खुसी व्यक्त गरे ।
नेता काइरालाले देशको राजनीति पछाडि त फर्कंदैन भन्ने चिन्ता रहेको भन्दै परेको बेला आवाज उठाउन गैरआवासीय नेपाली समुदायलाई आग्रहसमेत गरे ।
संघका अध्यक्ष भवन भट्टले आजैदेखि विश्वका पर्यटक आकर्षण गर्न सामाजिक सन्जालको उपयोग गर्न र प्रचार–प्रसारमा लाग्न गैरआवासीय नेपालीहरूलाई आह्वान गरे ।
गैरआवासीय नेपाली देशको समृद्धिका लागि लाग्नुपर्ने उनले बताए ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले बोलेर होइन, गरेरमात्रै देश बन्ने बताए । उनले व्यक्ति धनी बनेरमात्रै नहुने भन्दै देश नै धनी बन्नुपर्ने बताए ।
एकले अर्काेलाई दोष दिएर नहुने र देश नेपालीले नै बनाउनुपर्ने उनले उल्लेख गरे । कुनै विदेशीले नेपालको विकास नगर्ने भन्दै देश बनाउने काममा लाग्न आग्रह गरे ।
उनले देश बनाएको जस लिने अवसरको सदुपयोग गर्न सबै गैरआवासीय नेपालीलाई आग्रह पनि गरे ।
संघका पूर्वअध्यक्ष जीवा लामिछानेले अब परिणाम देखिने गरी कार्यमुखी भएर लाग्नुपर्ने बताए ।
देशमा राजनीतिक स्थीरता आएकाले अब आर्थिक स्थायित्वका लागि गैरआवासीय नेपाली लाग्नुपर्नेमा उनले जोड दिए ।
देशका लागि काम गर्ने समय आएको भन्दै उनले आजैदेखि लाग्न आग्रह गरे ।
नेपाल सरकारले गैरआवासीय नेपालीले उठाउँदै आएका धेरै माग सम्बोधन गरेको भन्दै उनले अब नेपालमा गैरआवासीय नेपालीले ठोस योगदान गर्नुपर्ने बेला आएको बताए ।
संघका पूर्वअध्यक्ष शेष घलेले भने संघमा परिमार्जन आवश्यक रहेको बताए । महिला, युवा वर्गमार्फत् संघलाई परिमार्जन गरिनुपर्नेमा उनले जोड दिए ।
नेपाल पर्यटकको सपनाको गन्तव्य रहेको भन्दै आउँदो वर्ष गैरआवासीय नेपालीमार्फत्बाटमात्रै चार लाख ५० हजार पर्यटक नेपाल लैजानुपर्ने बताए । गैरआवासीय नेपालीले त्यो गर्नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को विषयमा जानकारी गराए ।
नेपालको पर्यटन विकासका लागि गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण हुने उनको भनाइ छ ।
एनआरएनए युरोप संयोजक शिव बरूवालले १० अर्ब रुपैयाँको संयुक्त कोष बनाएर नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न लागेको जानकारी दिए ।
उनले ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन कसरी भूमिका खेल्ने र विदेशी लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा बैठककेन्द्रित रहेको बताए ।
‘युरोपका एनआरएनएहरुको उद्देश्य देश विकासका लागि लगानी र पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ सुरु बैठकमा पर्यटन, लगानी र नागरिकतासहित विभिन्न विषयमा छलफल हुँदैछ ।
युरोप बैठकले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि कार्ययोजना बनाउने र घोषणापत्र जारी गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्