नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार : मन्त्री ढकाल « Image Khabar


नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार : मन्त्री ढकाल


रासस
१६ मंसिर २०७७, मंगलवार १७:०७

चितवन, मंसिर १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ’–भन्नुभयो ।

उहाँले भन्नुभयो–‘महामारीबाट नागरिक बचाउन सके विकास निर्माणपछि गरौंला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।’

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकारकेन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइसोलेसन स्थापना गरिएको बताउनुभयो ।

९० जनाको क्षमता रहेको सो आइसोलेसनमा संक्रमितको संख्या बढ्दै गए २०० जनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा. हेमराज कोइरालालगायतले बोल्नुभएको थियो ।

आइसोलेसनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्