
दीपक घिमिरे/ईमेज:
भैरहवा । आर्थिक वर्षको अन्त्यमा हतार गरेर बजेट सकाउने शैलीमा रुपन्देही पनि अछुतो रहेन ।
निरन्तर आलोचना हुँदै आए पनि यो वर्ष असार महिनामा मात्रै ठूलो बजेट खर्च भएको हो ।
हुन त यो कुनै नौलो प्रवृत्ति होइन । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अघिल्ला ११ महिनामा बजेटले खासै काम पाएन तर जब असार सुरु भयो तब बजेट सक्ने लहड सुरु भयो ।
स्थानीय तहले जनप्रतिनिधि पाएको हुँदा जनताको तहबाट हेर्दा अबबाट यस्तो प्रवृत्तिको अन्त्य होला भन्ने थियो तर अवस्था झण्डै उस्तै रह्यो ।
आर्थिक वर्ष २०७४/०७५ मा कुल बजेट २१ अर्ब ८२ करोड रहेकोमा १९ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । खर्च भएको बजेट कुल बजेटको ९० प्रतिशत रकम हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीको तथ्यांक अनुसार असार महिनामा मात्रै पुँजीगतर्फ करिब ३ अर्बको विकास बजेट खर्च गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका प्रमुख मतिप्रसाद भुसालले भने विगतका तुलनामा यस वर्षको खर्च सन्तोषजनक रहेको र समयमै बजेट खर्च गर्ने परिपाटी सुरु भएको दाबी गर्छन् ।
त्यस्तै रुपन्देहीमा आर्थिक वर्ष २०७४/०७५ मा राजस्व संकलनमा वृद्धि भएको छ ।
विगतका तुलनमा यस वर्षको राजश्व संकलन १३ दशमलव १८ प्रतिशतले वृद्धि भएको हो ।
राजस्व संकलन बढेपनि धेरैलाई समयमा योजना अनुसारको काम नहुँदा चित्त बुझेको छैन ।
अन्तिम महिनामा बजेट सक्ने होडबाजीले एकातिर गुणस्तरीय काम नहुनु त छँदैछ त्यसमा पनि राज्यकोषको ठूलो् दुरुपयोग भइरहेको छ ।
हतारमा गरिएका विकासले उचित प्रतिफल दिन नसक्ने र यस्तो काम देखावटी मात्रै भएको गुनासो नागरिकको छ ।
अब असारे देखावटी विकास गरेर सुख पाउने स्थिति छैन । जनताले मौसमी विकास होइन दीगो र सदाबहार विकास खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस्