
इलाम । १२ वर्ष अगाडि निर्माण शुरु भएको इलामको काबेली करिडोर १ सय ३२ केभी प्रसारणलाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
आयोजनाको दोस्रो खण्ड इलामको सोयाकदेखि पाँचथर थापाटारसम्मको ४३ किलोमिटर लाइन तार टाँग्ने कार्य यसअघि नै सम्पन्न भएको भए पनि तेस्रो खण्डको निर्माण पूरा भएसँगै प्रसारणलाइन परीक्षणको तयारी सुरु भएको हो ।
पछिल्लो पटक लाइन टाँग्ने क्रममा पाँचथरमा दुई वटा टावर ढलेपछि आयोजनाको काम लम्बिएको थियो भने मुआब्जामा चित्त नबुझाएका स्थानीयको अवरोध, सामुदायिक वन तथा सरकारी वनका रुख कटानीमा झेल्नुपरेको समस्याका कारण पनि आयोजनाको निर्माण सम्पन्न हुन केही समय लागेको हो ।
करिब एक हप्ता विद्युत् परीक्षण गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काम भइरहेको र करिडोर निर्माण सम्पन्न भएपछि पुर्वी पहाडी जिल्लामा उत्पादन भएको विद्युत प्रशारण लाइन राष्ट्रिय प्रशारण लाइनमा जोडिन सहज हुने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
कावेली कोरिडोर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न हुनासाथ इलाम, पाँचथर र ताप्लेजुड. जिल्लामा उत्पादित करिव एक सय मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोड्न सहज हुने भएको छ ।
ती जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको र केही आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।
३ अर्व ५९ करोड लगानीमा शुरु भएको करिडोरको आर्थिक वर्ष २०६६/०६७ मा निर्माण प्रकृया सुरु भई आर्थिक वर्ष २०७१/७२ मा निर्माण कार्य प्रारम्भ भएको थियो ।
करिडोर झापाको लखनुपरदेखि पाँचथरको अमरपुरसम्म ९१ किलोमिटरमा फैलिएको छ भने चार वटा सवस्टेसन छन् । जसमा २ सय ६१ टावर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्