१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो


0
Shares

विलमिङटन, मंसिर १५ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनुभएको छ ।

तर, उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा. केभिनले बताउनुभयो ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाइ पनि जटिल हुन सक्दछ ।

राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नुभएको देखिएको थियो । तर, वैशाखी वा अन्य कुनै सहायता लिनुभएको थिएन ।

राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा दुईओटा कुकुर छन् र उहाँहरुले दुवैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसक्नुभएको छ ।