
तेह्रथुम । चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छाँया प्रतिबिम्बित हुने सुन्दर पोखरी । गुराँसे बनको काखमा सुस्तरी हावाको बेगमा छल्की रहेको हुन्छ । सानो र चिटीक्कै परेको गुफा बजार । यही बजारको नजिकै रहेको गुफापोखरीले मनै लोभ्याउने गर्छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको यो पोखरीमा पर्यटकहरु रमाउने गरेका छन । खासगरी गुराँस फुल्ने सिजनमा यहाँ पर्यटकहरुको ओइरो नै लाग्ने गर्छ । तेसो त चाडपर्व मात्र नभई प्रायः बर्षैभरी पर्यटकहरुको कमी हुँदैन । जाडो सिजन सुरु भएसँगै हिउँ पर्न थालेपछी हिउँ खेल्ने पर्यटकहरुले यो पोखरी र आसपासका क्षेत्र सयौको संख्यामा रमाइरहेका हुन्छन ।
गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वकै एक परिचित पर्यटकीय गन्तब्यको रुपमा छ । समुन्द्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी मनमोहक देखिने गर्दछ ।
पोखरी भन्दा केही पर रहेको मेन्छयायेम डाँडा पछाडी गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयबासी हिमा खनालले बताउनुभयो । २० औं शताब्दीमा गुफामा बसेर पूजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीमा आएर नुहाउने गरेकाले पोखरीको नाम नै गुफा पोखरी राखेको किवदन्ती रहेको खनालको भनाई छ ।
यस पोखरीको छेउमा मन्दिर पनि रहेको छ । यो ठाउँ हिन्दु, किराँत, धर्मावलम्बीहरुको तीर्थस्थल पनि हो । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको यो पोखरी सुक्न त थालेपछी संरक्षणको खाँचो देखिन चालेको छ । पोखरीमा रहेको पानीको श्रोत नभएकाले हाल यो संकटमा परेको छ ।
मूल सुक्दै गएको र नदीनाला पनि नहुँदा केही वर्ष यता पानीको सतह र पोखरीको आकार घट्दै गएको छ । स्थानीय हरी खनालका अनुसार प्राकृतिक रुपमै बनेको गुफा पोखरीमा ५ वर्ष अगाडिसम्म पानी टनाटन थियो तर पानीको मुहान सुकेपछि आधा घटेको हो ।
पर्यटकले छेउको डाँडा चढेर पोखरीको तस्विर लिने, दृश्यावलोकन गर्ने तथा सेल्फी खिच्ने गर्छन् । मानव अतिक्रमणबाट जोगाउन तारबार गरिएपनि पानी नै सुक्दै जाँदा पोखरीको अगाडिको भागमा बालुवा देखिन थालेको सोनाम शेर्पाले बताउनुभयो ।
पोखरी घट्दै गएपनि चैत्र, बैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउँदा आन्तरिक पर्यटक गुफा पोखरी भने पुगेरै छोड्ने गरेका छन् । तेह्रथुम जिल्ला अथवा ताप्लेजुङ हुँदै आउनुपर्ने भएकोले बीच बाटोमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ जातको गुराँसको घना जंगल देखिन्छ ।
मौसम खुलेको बेला गुफा बजारबाट मकालु, कञ्चनजंगा, ल्होसे र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् ।
गुफा पोखरीसँगै गुफा बजार नामक मानव बस्ती छ । अलि पर सुके बजार रहेको छ । होटल व्यवसायीलाई भने पोखरीमा पानी घट्दा धेरै चिन्ता छाएको छ । पोखरीको पानी यस्तै हो भने अवको १० वर्ष भित्रमा पुरै सुक्ने ग्याल्दो शेर्पाले बताए ।
नजिकै रहेको सुके पोखरीमा पानी सुके पछि अहिले घर बनेको छ उनले भने । गुफा पोखरीको पनि हालत यस्तै हुन सक्ने उहाँको धारणा छ । स्थानीय सरकारले पानीको श्रोत पहिचान गरेर अथवा बैकल्पिक तरिकारले अन्यत्रबाट पाइपको सहायताले पानी लगाएर भएपनि पोखरी सुक्नबाट बचाउनु पर्ने स्थानीयवासीको धारणा रहेको छ ।
गुफा बजारमा खान बस्नको राम्रो सुविधा छ । यहाँ चौरीक, भेडाको घिउँ, छुर्पी, दुध दही, मही पाइन्छ । याङवेन, तङ्वा, सुकुटी र बंगुरको मासुको परिकारको लागि यो ठाउँ धेरै प्रख्यात रहेको छ ।
यहाँका सबै होटलमा स्थानीय परिकार, याकको मासुको सुकुटी, भेडाको मासु, लोकल कुखुरा, हिमाली सिमीको दाल पाक्ने गर्दछ । सरकारले हालै नयाँ पर्यटकिय गन्तव्य घोषणा गरेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रभित्र यो गुफा बजार र पोखरी पनि पर्दछ ।
प्रतिक्रिया दिनुहोस्