
-प्रकाश लम्साल/ईमेज
बारा । दुई बर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २०७३ असार २९ गतेदेखि निर्माण थालेको पथलैया–वीरगन्ज ६ लेनको व्यापारिक मार्ग एउटा रुखका कारण रोकिएको छ ।
आयोजनाको म्याद पटकपटक थप गरिए पनि गत फागुनदेखि एउटा रुखका कारण निर्माण कार्य रोकिएको हो ।
स्थानीयवासीले २५ मिटर समयमै नछाड्दा र निर्माण कम्पनीको ढिलाइका कारण लम्बिएको राष्ट्रिय योजना विगत ६ महिनादेखि भने एउटा रुखका कारण रोकिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको सो रुख सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेसम्म काट्न नमिल्ने अडान लिएपछि आयोजनाको काम रोकिएको हो ।
गत फागुनमा पाइपलाइन विस्तारका क्रममा ९ किलोमिटर सडकको २५ मिटरभित्रका सबै रुख काटिए पनि पथलैयादेखि १ किलोमिटर दक्षिणमा रहेको उक्त रुख टिम्बर कर्पोरेसन अफ नेपाल (टिसीएन)ले छपान गर्दा छुटाएपछि अहिले रुख काट्न निकुन्जले रोक लगाएको योजनाले जनाएको छ ।
फागुनदेखि एउटा रुखका कारण काम रोकिएको र सडक विभागका एक जना कर्मचारी अनुमती लिन प्रत्येक दिन वन मन्त्रालय जाने गरेको बताइएको छ ।
तर मन्त्रालयले आजसम्म अनुमति नदिँदा राज्यले निर्माण कम्पनीलाई करोडौं बिलम्ब शुल्क दिनुपर्ने भएको छ ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले त्यो रुखले वातावरण, वन, वन्यजन्तुलाई पर्ने प्रभाव र असरबारे इआइए नगरेसम्म अनुमति दिन नसकिने बताएका छन् ।
एउटा रुखका कारण राज्यको काममा ढिलाई भैरहेको र आफुहरु समेतले घाटा ब्योहोर्नु परेको निर्माण कम्पनीका प्राविधिकको भनाइ छ ।
३ सय ५० करोड रुपैयाँको लागत रहेको यो योजनामा सरकारी निकायहरूबीचकै समन्वयको अभाव हुँदा निर्माण सुस्त भरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्