११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पाँचथरमा सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको अभाव


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, साउन १७ । वर्षाका कारण पाँचथरका विभिन्न क्षेत्रमा सवारी–साधन सन्चालन हुन नसक्दा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।

फालेलुङ, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको हो ।

फिदिम–फालोट सडकखन्डमा ठाउँठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएपछि फालेलुङका मेमेङ, प्राङ्बुङ, सिदिनलगायतका स्थानमा चामल, चिउरा, तेललगायतका सामग्रीको अभाव हुन थालेको सिदिनका व्यवसायी लिलाधर खनालले बताए ।

वर्षाका कारण मौवा–धरान सडकखन्ड अवरुद्ध भएपछि जिल्लाको दक्षिणी भेग तुम्बेवा गाउँपालिकाका मौवा, आङना, चुहाडेलगायतका स्थानमा पनि खाद्यान्न अभाव सुरु भएको बताइएको छ ।

यस्तै, मिक्लाजुङका सराङडाँडा, कुरुम्बा, लिम्बा, दुरदिम्बालगायतका ग्रामीण भेगमा पनि दैनिक उपभोग्य सामाग्रीको अभाव भएको बताइएको छ ।

कच्चीसडकमा पहिरो जानेक्रम जारी रहेकाले समस्या उत्पन्न भएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताए ।

भत्किएका सडक सम्भव भएसम्म मर्मत गर्ने काम भइरहेको फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।