
केदार कटुवाल (इमेज)
उदयपुर, साउन १७ । उदयपुरको त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु गरेको वर्षाैं बितिसके पनि निर्माणकार्य अझै पूरा भएको छैन ।
समयमा पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका मानिस डुंगामा चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।
चौदण्डीगढी नगरपालिका–५ को शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीमा पुल निर्माण गर्न थालिएको ९ वर्ष भइसकेको छ ।
सरकारी उदासीनता र ठेकेदारको चरम लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा बर्खाको समयमा स्थानीयले डुंगाको सहारामा नदी वारपार गर्ने गरेका छन् ।
विभिन्न बहाना देखाउँदै निर्माण कम्पनीले लापरबाही गर्दा पनि सडक विभाग मुकदर्शक बनेकाले आफूहरुले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ ।
आर्थिक वर्ष २०६७/६८ मा निर्माण प्रारम्भ भएको पुल २०७०/७१ मा पूरा हुनुपर्ने हो ।
पुरानो डिजाइन परिवर्तन गरेर नयाँ डिजाइनअनुसार काम गर्नुपरेको, तीनओटा पिल्लर निर्माणस्थलमा रुखका ठूटा भेटिएको र सरकारले समयमै पर्याप्त रकम नपठाएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी र लोकप्रिय जेभीको दाबी छ ।
निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले ८० प्रतिशत काम पूरा भएको मूल्यांकन गरेको छ । पुलका १३ ओटा पिल्लरमध्ये १० ओटाको ढलान भएको छ ।
९ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । पुल निर्माणमा अहिलेसम्म ७ करोड ९४ लाख खर्च भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्