पाँचथरका कृषक व्यावसायिक पशुपालनतर्फ, मासिक एक लाखसम्म आम्दानी « Image Khabar


पाँचथरका कृषक व्यावसायिक पशुपालनतर्फ, मासिक एक लाखसम्म आम्दानी


सुरेन्द्र भण्डारी (इमेज)
१२ मंसिर २०७७, शुक्रबार १४:४६

पाँचथर, मंसिर १२ । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् ।

थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका दोबाटेका राजेन्द्रप्रसाद भण्डारीलाई वैदेशिक रोजगारीमा जान मन नलागेको भने होइन । सँगैका साथी खाडीदेखि युरोपियन मुलुकसम्म पुगेर कमाएको पैसाले वर्षेनि खेतबारी जोड्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच उनमा पनि पलाएको थियो ।

तर, बूढा भएका ‘बा’लाई हेरचाह गर्ने कोही नभएपछि उनी वैदेशिक रोजगारीमा जान पाएनन् । ‘बा’को हेरचाहसँगै घरधन्दा र घाँस–दाउरामै उनको दिनचर्या बितेपछि आर्थिक उपार्जनको कुनै माध्यम नै भएन ।

बुढ्यौलीले थलिएका बुवाको निधन हुनु र हुर्कंदै गरेका लालाबालाको भविष्यप्रतिको चिन्ताले च्यापेपछि अन्ततः उनले बाख्रापालन गर्ने अठोट गरे ।

बाख्रापालन सुरु गरेको पहिलो वर्ष नै छ लाख रुपैयाँ आम्दानी गरेपछि व्यावसायिक पशुपालनमा उत्साहित बनेका भण्डारीले अहिले लोकल कुखुरादेखि भैंसीसम्म पालन गर्दै मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनले गत वर्ष बाख्रापालनबाट मात्रै छ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

कामले काम सिकाउँछ भनेझैं आफैंलाई परेपछि विकल्पको खोजीमा रहेका भण्डारीले अहिले आफूमात्र होइन, गाउँका युवालाईसमेत व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्दै आएका छन् ।

फाल्गुनन्द गाउँपालिकाले ६० हजार रुपैयाँको लागतमा खरिद गरिदिएको जमुनापारी प्रजातिको बीऊ बोको गाउँका सबैलाई दिएर सहयोग पुर्‍याउँदै आएका छन् ।

पाँचथरको दोबाटेका भण्डारीकै सिको गर्दै अहिले अन्य युवालेसमेत परम्परागतरुपमा पालिँदै आएको बाख्रापालनलाई त्यागेर व्यावसायिक बाख्रापालनमा चासो देखाएका छन् ।

भण्डारीजस्तै दोबाटेकै देवीचन्द्र गड्तौला, खोमनाथ भण्डारीसहित अहिले सिंगो दोबाटेवासी व्यावसायिक बाख्रापालनमा लागेका छन् ।

बाख्रापालनका लागि प्रशस्त खुला ठाउँ हुनु, डालेघाँस प्रशस्तै पाइनु, अम्रिसो, धुस, दुदिलो, गोगनजस्ता पोसिलो घाँसका कारण बाख्रा सप्रिनु र बिक्रीका लागिसमेत समस्या नरहेपछि यहाँका कृषक खुसी देखिएका छन् ।

स्थानीय तहको पहलमा गाउँ–गाउँमा मोटरबाटो पुग्नु, त्यहाँ उत्पादित कृषिजन्य सामग्रीले बजार पाउनु र व्यावसायिक बाख्रापालनप्रति सर्वसाधारण आकर्षित हुनुले जिल्लाकै दुर्गम मानिएको साविक आङ्सराङ– ७, दोबाटेका कृषक निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिकतातर्फ केन्द्रित भएको देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्