
सर्लाही । सर्लाहीका किसानले दुई सातादेखि स्थानीय क्रसर उद्योगमा धमाधम उखु बिक्री गर्न सुरु गरेका छन् ।
लागातार चार वर्ष चिनी उद्योगमा उखु बिक्री गरेको भुक्तानी नपाएपछि यस क्षेत्रका किसानले आधा मूल्यमा सक्खर उत्पादन गर्ने स्थानीय क्रसर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।
अन्नपूर्ण मिलले तीन वर्षको करिब २४ करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको छैन । किसानको बक्यौता राखेको अन्नपूर्ण चिनी मिल्स बन्द भएपछि यस क्षेत्रका किसानले बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु बिक्री गरेका छन् ।
महालक्ष्मीले पनि किसानको पूर्णरुपमा भुक्तानी दिएको छैन । महालक्ष्मीले किसानलाई सात करोड रुपैयाँ तिर्न बाँकी छ ।
चिनी मिलहरुले नगदे बाली भनिएको उखुको बक्यौता राख्न थालेपछि किसानले विकल्पको रुपमा स्थानीय क्रसर उद्योगलाई रोज्न थालेका छन् ।
गहुँ, मुसुरो, तोरी सहित हिउँदे बाली लगाउने बेला भएकाले यस क्षेत्रका किसानलाई उखु तत्काल हटाउने चटारो छ ।
किसानको त्यही अफ्ठ्यारोको फाइदा उठाउँदै स्थानीय क्रसर उद्योग सञ्चालकले निकै कम मूल्य दिएर किसानको उखु खरिद गरिरहेका छन् ।
यो वर्ष २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती भएको छ । सर्लाहीमा हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको भुक्तानी प्रकृया राम्रो भएपनि धनकौलको अन्नपूर्ण र बगदहको महालक्ष्मीले भुक्तानीमा निकै ढिलाई गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्